मौसमी कामदारबारे निर्णय नभएको जानकारी

सरकारले दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा निर्णय नभएको स्पष्ट पारेको छ ।
मौसमी कामदार पठाउन सरकार र दक्षिण कोरिया सरकारबीच सम्झौता भएको भनी प्रचार भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो बताएको हो । सामाजिक सञ्जालमा भाइरल भएका त्यस्ता सूचनामा कुनै सत्यता नरहेकोले भन्दै मन्त्रालयले सतर्क गराएको छ ।
‘दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच सम्झौता भएकोले भागिनी सम्झौता कायम गरेका स्थानीय तहहरुले यस मन्त्रालयमा सम्पर्क गर्नु भन्ने व्यहोराको मिति २०८१–०८–२० मा प्रकाशित झूठा व्यहोराको प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा प्रचार गरिएकोमा उक्त विज्ञप्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
मौसमी कामदारका विषयमा मन्त्रालयबाट कुनै पनि सूचना आह्वान नभएको जनाउँदै थप भनिएको छ, ‘आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटर हेड र छापको दुरुपयोग गरी यस मन्त्रालयको महाप्रशाखा प्रमुखको नामको किर्ते हस्ताक्षरसहितको विज्ञप्ति प्रयोग गरी भ्रम फैलाइरहेकामा यस्तो काम गर्ने व्यक्ति, समूहमाथि कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार भइसकेको छ ।’
टिप्पणीहरू