देउवाको गृह जिल्लामा पुल बनाइदिन माओवादीको माग

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरास्थित रंगुन नदीमाथि पुल बनाइदिन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले आफू अर्थमन्त्री हुँदा पुल बनाउन बजेट छुट्याए पनि अहिलेको सरकारले काम अगाडि नबढाएको बताए । आफू हिजो डडेल्धुरा पुगेको बताउँदै पूर्व अर्थमन्त्री पुनले उक्त पुल निर्माण अघि बढाउन सरकारको विशेष ध्यानाकर्षण गराए ।
‘म हिजो संसदको प्रमुख दलका सभापति माननीय शरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर आएँ । आजै मात्र फर्किएको छु’, पुनले भने, ‘त्यहाँ ठूलो रंगुन नदी रहेछ । त्यसमा यस वर्ष पुल बनाउनका लागि बजेट विनियोजन भएको रहेछ । तर, सरकारले ठेक्का लगाइराखेको छैन ।'
आफ्नो गृहजिल्ला रोल्पालगायत देशैभर यस्तो अवस्था रहेको उल्लेख गर्दै नेता पुनले टुक्रे आयोजनाका नाममा सरकारले ठेक्का नलगाएकोमा आपत्ति जनाए ।
‘ठेक्कापट्टाका लागि आवश्यक स्राेत जुटाएर डडेल्धुराको रंगुन नदीको पुल यसै वर्ष निर्माण होस् । वर्तमान प्रधानमन्त्रीज्यूकै पार्टी सरकारमा थियो । भौतिक पूर्वाधारजस्ता मन्त्रालय जसले खर्बौं बजेट परिचालन गर्छ । त्यो बजेट कसले बनाएको हो, कसले सिफारिस गरेको हो । किन कार्यान्यवन भइराखेको छैन । त्यसको जिम्मा वर्तमान सरकारको नेतृत्व गरिराखेको पार्टीले पनि लिनुपर्छ', उनले भने ।
टिप्पणीहरू