चुनाव खर्च उठाउन मारवाडीलाई मुर्गा

रोल्पाका दुई जनप्रतिनिधिले चुनावमा लागेको ऋण तिर्न घोराही सिमेन्ट उद्योगका मालिक पुरुषोत्तमलाल (पिएल) संघाईसँग दुई करोड मागेको खुलासा भएको छ ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री दिपेन्द्र पुन सिजलले प्रदेशसभा बैठकमा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा र उपाध्यक्ष लेखमणी डाँगीले संघाईसँग पैसा मागेको दावी गरेका हुन् । ०७९ को चुनावमा एमालेबाट निर्वाचित बाँठा र कांग्रेसबाट निर्वाचित डाँगीले काठमाडौँको एक होटलमा भेटेर संघाईसँग पैसाको डिल (प्रस्ताव) गरेको प्रदेश सभा सदस्य पुनले बताए ।
‘उहाँहरु चुनाव जितेपछि काठमाडौँ गएर पिएल संघाईलाई भेट्न खोज्नुभएछ, संघाईले आफ्नो अफिसमा बोलाउँदा उहाँहरुले चाहिँ बाहिर होटलमा भेट्छौं भन्नुभयो’, प्रदेशसभा बैठकमा उनले भने, ‘बाहिर एउटा होटलमा भेटघाट भयो,अनि उपाध्यक्षज्यूले सबै डिल गर्नुभयो । चुनावमा खर्च लाग्यो, आदि इत्यादि गरेर दुई करोड प्रस्ताव राख्नुभयो ।’
‘उहाँहरुले संघाईलाई भेटेको र पैसा मागेको त थाहा भएन,तर अहिले विवादमा चाहिँ उहाँहरुले आफ्नो स्वार्थको लागि समिति बनाउनुभएको हो ।’
व्यवसायी संघाईले भने ‘म दुई करोड पैसा दिन सक्दैन,बरु कुनै विकास निर्माण, बाटोघाटो, स्कूल,कुलोकुलेसो बनाउनुहुन्छ भने प्रस्ताव ल्याउनुस्, त्यो सम्बोधन गरिदिन्छु’ भनेर पैसा नदिएको पुनले खुलाएका छन् । उक्त प्रस्तावमा अध्यक्ष बाँठा र उपाध्यक्ष डाँगीले ‘हामी निर्वाचित भइसक्यौँ, विकास त हामी आफैँ गरिहाल्छौँ,तपाईंले दुई करोड सम्बोधन गर्दिनुपर्यो’ भनेर अड्डी कसेको उनको भनाई छ ।
उक्त भेटघाटमा पैसा पाउने सम्भावना नदेखेपछि अध्यक्ष र उपाध्यक्षले केही समयमै अर्को प्रस्ताव राखेको पुनले बताए । ‘उपाध्यक्षमार्फत् फेरि अर्को प्रस्ताव गरियो,बूढागाउँमा सिमेन्टको कच्चा पदार्थ चुन ढुंगा उत्खननमा गाडी, घोडा, डोजर, टिपरलगायतका सारा म्यानपावर प्रेम पुनले चलाइराख्या छ, त्यो सबै काम हामीलाई दिनुपर्यो भन्दै’, उनले अघि भनेका छन्, ‘तर संघाईले १२ वर्षदेखि सँगै काम गरिरहेको व्यक्तिलाई हटाउन नमिल्ने भन्दै प्रस्ताव अस्वीकार गरेपछि अहिले उहाँहरु संघर्ष समिति बनाएर उद्योगकै विरुद्धमा लाग्नुभएको छ ।’
बूढागाउँका स्थानीयहरु पर्यावरणीय असर भएको,पानीका मूल सुक्न थालेको, गाउँको भूगोल नै कमजोर भएको भन्दै चुन ढुंगा उत्खनन् रोक्नुपर्ने पक्षमा छन् । तर, कांग्रेस र एमालेका जनप्रतिनिधिले भने नागरिकको यस्तो भावनाको फाइदा उठाएर संघर्ष समितिमार्फत् सिमेन्ट उद्योगका मालिकसँग बार्गेनिङ गरिरहेको अरु कतिपयको पनि आरोप छ ।
स्मरणीय के छ भने, सिमेन्ट उद्योगलाई चुन ढुंगा उत्खननको लागि पर्यावरणीय, भौगोलिक र प्राविधिक मापदण्डकाे परीक्षण स्वीकृति दिने तत्कालीन गाउँपालिका अध्यक्ष शान्तराम वली पनि एमालेबाटै निर्वाचित थिए । पछिल्लो समय उनैकाे अगुवाइमा संघर्ष समितिले सिमेन्ट उद्योगविरुद्ध आन्दोलन गरिरहेकाे छ ।
सुरूमा समितिकाे अध्यक्ष पनि वली नै थिए । तर ‘आफै उत्खननको स्वीकृति दिने,अनि फेरि आफै आन्दोलन गर्ने’ भन्दै आलोचना बढेपछि अहिले एमाले निकटकै ओमराज घर्तीलाई अध्यक्ष बनाइएको छ ।
जनप्रतिनिधिहरूले आफ्नो स्वार्थ पूरा नभएपछि अहिले स्थानीयको सहानुभूति बटुलेर आफ्नो फाइदाको लागि सिमेन्ट उद्योगविरुद्ध लागेको जिल्लास्थित नागरिक अगुवाहरुको बुझाई छ । गाउँपालिकाकै कर्मचारीले समेत अध्यक्ष बाँठा र उपाध्यक्ष डाँगीको कामकारवाहीप्रति असन्तुष्ट प्रकट गर्न थालेका छन् ।
‘चुन ढुंगा उत्खननले फाइदा वा असर हेर्ने खानी विभाग छ, उद्योग मन्त्रालयले पनि हेर्छ’, एक कर्मचारी भन्छन्, ‘तर उहाँहरुले अहिले एक्कासी गाउँको निकै माया लागेजसरी प्रस्तुत हुनु भइरहनुभएको छ, हेर्दा यो राम्रो हो, तर यसको पछाडि उहाँहरुको अरु केही स्वार्थ देखिन्छ ।’
अर्का कर्मचारीले पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिले दिएको उत्खनन् स्वीकृति एमालेकै जनप्रतिनिधिले रोक्न खोजेकोमा आश्चर्य व्यक्त गरेका छन् । भन्छन्, ‘उहाँहरुले संघाईलाई भेटेको र पैसा मागेको त थाहा भएन,तर अहिले विवादमा चाहिँ उहाँहरुले आफ्नो स्वार्थको लागि समिति बनाउनुभएको हो ।’
उता गाउँपालिका अध्यक्ष बाँठाले भने व्यवसायी संघाईसँग भेटेर पैसा मागेको कुराको खण्डन गरेका छन् । ‘तपाई र उपाध्यक्षज्यू काठमाडौँ पुगेर संघाईलाई भेट्नुभएको हो ?’ भन्ने जनआस्थाको प्रश्नमा उनले भने, ‘यो निराधार कुरा हो । गलत हो ।’ यसबारे थप प्रतिक्रिया लिन खोज्दा उनले ‘म कार्यक्रममा छु, पछि बोल्छु’ भन्दै फोन काटे ।
त्यस्तै, उपाध्यक्ष डाँगीले पनि आफू बाटोमा रहेको भन्दै बोल्न नमिल्ने बताए । ‘व्यवसायी संघाईसँग तपाईहरुले चुनाव खर्च माग्नुभएको हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘म अहिले दाङबाट रोल्पा जाँदैछु, अध्यक्षज्यूसँग भेटेर एउटा संयुक्त वक्तव्य निकाल्छौं र उहाँ (पुन)को खण्डन गछौँ, अहिले धेरै बोल्दिनँ ।’
टिप्पणीहरू