बालेनलाई मन नपर्ने समाचार लेख्दा कुटिए पत्रकार

बालेनलाई मन नपर्ने समाचार लेख्दा कुटिए पत्रकार

पत्रकार कमलबहादुर बोहरामाथि कुटपिट भएको छ । ‘पालिका समय डटकम’ को अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत रहेका बोहरामाथि अस्ति साँझ काठमाडौंको मध्ये बानेश्वरमा कुटपिट भएको हो । चार–पाँच जना अपरिचित व्यक्तिको समूहले उनीमाथि आक्रमण गरेको पत्रकार गणेश बिकले बताए । 

उनका अनुसार सो दिन बोहोरा गायक राजेशपायल राईको एउटा कार्यक्रममा सहभागी भएर घर फर्किँदै थिए । एक्लै हिँडिरहेको मौका छोपेर अपरिचित समूहले उनलाई मरणासन्न हुनेगरी हिर्काएको हो । हाल घरमा आराम गरिरहेका उनको छातीमा चोट लागेको पत्रकार बिकले जानकारी दिए । 

बिकका अनुसार उनले गत माघ १९ गते ‘गरिबमाथि मेयर बालेनको लाठी, ठूलाबडाको रजाइँमा मौन’ शीर्षकमा समाचार प्रकाशित गरेका थिए । त्यसपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको सचिवालयबाट समाचार हटाउनका लागि फोन गरेको थियो । तर,समाचार हटाउन नमानेकाले बालेनले कुटपिट गर्न लगाएको हुनसक्ने उनको अड्कल छ । 

‘बालेनविरुद्ध उहाँले समाचार प्रकाशित गर्नुभएको थियो । सचिवालयबाट समाचार हटाउन फोन आएको थियो । तर,उहाँले मान्नुभएन । त्यसैले उहाँमाथि कुटपिट गरेको हुनसक्ने हाम्रो अनुमान छ । उहाँको छातीमा चोटपटक लागेको छ । अहिले घरमै आराम गरिरहनुभएको छ । आज दिउँसो चेकअपका लागि फेरि अस्पताल लैजान्छौं’,उनले भने । 

पत्रकार बोहराले आफू कुटिएकोबारे प्रहरी वृत्त, बानेश्वरमा जाहेरी दिएका छन् । प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज झिकाएर अनुसन्धान गर्ने तयारी गरेको छ । यता,पत्रकारसम्बद्ध विभिन्न संघ संगठनले विज्ञप्ति जारी गर्दै बोहरामाथि भएको आक्रमणको घोर भर्त्सना गरेका छन् । 

नेपाल पत्रकार महासंघले पत्रकारमाथि कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । ‘कुनै पनि बहानामा पत्रकारमाथि हुने यस्ता हर्कत प्रेस स्वतन्त्रताविरोधी हो । प्रेसविरोधी यो घटनाको महासंघ कडा शब्दमा भर्त्सना गर्दछ । महासंघ घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ’,विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, महासंघको काठमाडौं शाखाले पत्रकारलाई निर्वाध र निर्भिकतापूर्वक काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रावधान भएको स्मरण गराउँदै शाखाले आक्रमणकारीलाई कारबाहीको माग पनि गरेको छ ।

टिप्पणीहरू