सहकारी काण्डमा जिबी र रविले छविलाई फसाएको दावी

जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष तथा पूर्व डिआईजी छविलाल जोशीले सहकारीको रकम दुरुपयोग नगरेको दावी दोहोर्याएका छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाका प्रतिवादी उनले चितवनको सहारा सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको बयान दिएका हुन् । जोशीले प्रहरीलाई दिएको बयानमा ‘गोर्खा मिडियाका सम्पूर्ण कारोबार जिबी राई र रवि लामिछानेलाई थाहा होला’ भन्ने व्यहोरा उल्लेख छ ।
नेपाल प्रहरीको ३० वर्षीय सेवा अवधि पूरा गरेर ५० प्रतिशत लगानीसहित गोर्खा मिडियामा जोडिएको तर एक वर्षमै शेयर लिएर अलग भएको जोशीले बताएका छन् । तर, कम्पनीमा सहकारीको पैसा कसरी आयो भन्नेबारे आफूलाई जानकारी नभएको उनको प्रष्टीकरण छ ।
‘कम्पनीको आर्थिक कारोबार जिबी राई र रवि लामिछानेले गर्ने गरेको हुँदा यस सम्बन्धमा मलाई केही थाहा भएन । पैसा माग गर्ने, ल्याउने र खर्च गर्ने समेतको कुनै प्रकारको छलफल, माईन्युट वा समझदारी कुनै दिन नभएकोले सो विषयमा निज दुई व्यक्तिलाई थाहा होला’, जोशीको बयानमा भनिएको छ, ‘कम्पनीबाट अलग भएपछि पहिलादेखि आबद्ध रहेको के एण्ड के कलेज बानेश्वरमा डाइरेक्टरको रूपमा काम गरी अध्यापनसमेत गराउँदै आएको छु ।’
जिबी राईकै स्वामित्वमा चितवनमा सहकारी रहेको कुरा आफूले कम्पनीबाट अलग भएपछि मात्र थाहा पाएको र उक्त सहकारीको सदस्य, बचतकर्ता, पदाधिकारी र कर्मचारीसमेत नरहेको जोशीको भनाई छ । आफ्नो नामबाट फेक अकाउण्ट बनाइएको जिकिर गर्दै उनले थपेका छन्, ‘सहकारीको वित्तीय कारोबारको अभिलेख राख्ने गरेको सफ्टवेयर विद्युतीय डाटाबाट छविलाल जोशीको नाममा देखाइएको खाता मेरो होइन, सो खातामा उल्लेखित व्यक्ति समेत म होइन ।’
बरु जिबि राईले आफ्नो नाम दुरुपयोग गरेर सहकारीको पैसा कम्पनीमा ल्याएको हुनसक्ने जोशीको अनुमान छ । उनले कारण खुलाउँदै भनेका छन्, ‘बिना कुनै दस्तखत, धितो, ऋण, पेस्की कसरी प्रवाह हुन सक्छ । यसमा जीबी राई भन्ने गितेन्द्र बाबु राईकै सफ्टवेयर उनकै कर्मचारी, आईटी कम्पनी, अभिलेख, योजना भएकोले म जाँदै नगएको, नदेखेको ठाँउबाट समेत मेरो नाम किर्ते गरी मेरो नाम उल्लेख गर्छ भने निजकै आदेश र योजनामा यी सबै कार्य गरेको, भएको हुनुपर्छ । निजकै नियन्त्रण र आदेशमा गरिने भए पछि जसको नाममा पनि उल्लेख गर्न मिल्दो रहेछ ।’
सवा ३८ करोड रकम हिनामिना भएको सहारा ठगी प्रकरणमा आज जिबि, रवि र जोशीसहित १५ जना व्यक्ति र पाँच कम्पनीविरुद्ध आज अदालतमा पूरक अभियोजन दर्ता भएको छ । भोलिदेखि सुनुवाई सुरु हुने बताइएको छ ।
टिप्पणीहरू