जिबीले सही चोरेर फसाएको रविको जिकिर

जिबीले सही चोरेर फसाएको रविको जिकिर

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु उर्फ जिबी राईद्वारा आफ्नो हस्ताक्षरको चरम दुरुपयोग भएको बताएका छन् । 

चितवनको सहारा सहकारी ठगी प्रकरणमा ‘जिबीकै निर्देशनमा एक जिम्मेवार कर्मचारीको भूमिका निभाएको’ बयान दिएका उनले आफ्नै पूर्व साझेदारमाथि सबै दोष खन्याएका हुन् । आफू प्रबन्धक निर्देशक रहे पनि कम्पनीलाई आवश्यक पर्ने सम्पुर्ण पैसा जिबीले बन्दोबस्त गरेको लामिछानेको दावी छ ।

‘कम्पनीमा नगद प्रवाहको आवश्यकता पर्दा असुरक्षित कर्जाको नाममा निजले नै कम्पनीमा नगद प्रवाहको व्यवस्था गर्दथे’ उनले बयानमा भनेका छन्, ‘कम्पनी सुरु गर्दा गितेन्द्र बाबु राई र छविलाल जोशी सञ्चालक थिए, उनीहरूबीचको सल्लाह सहमतिबारे मलाई जानकारी छैन ।’

कुनै पनि कम्पनीमा स्थापनाको पहिलो वर्ष तुलनात्मक रुपमा धेरै खर्च हुने र त्यसकारण धेरै चेक काटिएको लामिछानेको तर्क छ । ‘नयाँ कम्पनीका अधिकांश खर्चहरू स्थापनाको पहिलो वर्षहरूमा हुने गर्दछन् । जस्तै भौतिक निर्माण, उपकरण खरिद, विभिन्न व्यक्ति एवं संस्थाहरूसँगको सम्झौता, कर्मचारी भर्ना लगायतका शीर्षकमा सबै भन्दा धेरै खर्च पहिलो वर्षमा नै हुने भएकाले मेरै कार्यकालमा सर्वाधिक चेकहरू जारी भएका हुन्’, उनले थपेका छन् । 

विश्वासबिना कुनै पनि नीजि कम्पनी चलाउन नसकिने र त्यहीँ विश्वास गरेर आफूले चेक काटेको उनको प्रष्टीकरण छ । गोर्खा मिडियामा सहकारीको पैसा भित्राउने योजनामा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्याउँदै भनेका छन्, ‘यो एउटा विश्वास हो । कैयौँ अवस्थामा कार्य व्यस्तता बाबजुद कार्य सहजताका लागी खाली चेकहरूमा समेत हस्ताक्षर गरी छाड्ने अभ्यास थियो । यस किसिमको रिजनेबल विश्वासविना निजी क्षेत्र चल्न गाह्रो हुन्छ ।’

स्मरण रहोस्, सहारा सहकारी ठगी प्रकरणमा आज लामिछाने, जिबी राईसहित १५ जना व्यक्ति र पाँच कम्पनीविरुद्ध पूरक अभियोजन दर्ता भएको छ । अभियोग पत्रमा लामिछानेले गोर्खा मिडियाको बैंक खाताबाट पत्नी निकिता पौडेललाई चार वटा चेकमार्फत् ५९ लाख ३८ हजार रकम पठाएको दावी गरिएको छ । 

त्यस्तै, लामिछानेले गोपिकृष्ण मूभिजको नाममा समेत दुई वटा चेकमार्फत् ८१ लाख रकम पठाएको अभियोग पत्रमा उल्लेख छ ।

टिप्पणीहरू