रविविरुद्ध चितवनमा मुद्दा दर्ता, सवा ३८ करोड ठगेको दावी

रविविरुद्ध चितवनमा मुद्दा दर्ता, सवा ३८ करोड ठगेको दावी

चितवनको सहारा सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पूरक अभियोजन दर्ता भएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले आज रविसहित १५ जना व्यक्ति र ६ संस्थाविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । सवा ३८ करोड रकम हिनामिना भएको उक्त सहकारीबाट लामिछाने तत्कालीन प्रबन्धक निर्देशक रहेको गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार गएको प्रहरीको अनुसन्धानले देखाएको छ । 

दर्ता नम्बर ०८१-सी१-०५७२ रहेको मुद्धामा लामिछानेसहित छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । त्यस्तै, सहकारीबाट रकम गएका कम्पनीहरु गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि पनि प्रतिवादी छन् । 

जिल्ला सरकारी वकिलको कार्यालयले गत साता नै मुद्धा दर्ताको तयारी गरे पनि अनुसन्धान प्रतिवेदनमा केहि त्रुटी देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयलाई फिर्ता गरेको थियो । प्रहरीले प्रतिवेदन सच्याएर पेश गरेसँग आज मुद्धा दर्ता भएको हो । उक्त सहकारी ठगी प्रकरणमा यसअघि असोज ८ गते १७ जनाविरुद्ध मुद्धा दर्ता गरिएको थियो । 

स्मरण रहोस्, सूर्य दर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई पोखरा जिल्ला अदालतले ६५ लाख धरौटी तोकेको थियो । त्यस्तै, स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालते ६० लाख र सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछानेले तीन जिल्लामा तोकिएबमोजिमको धरौटी बुझाएर हिरासतमुक्त भइसकेका छन् ।
 

टिप्पणीहरू