बेपत्ताको नाममा नक्कली शिक्षक नियुक्त, पारिश्रमिक खुरुखुरु अरुलाई

गुल्मीको कालिगण्डकी गाउँपालिका–१, स्थित देउराली माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद सापकोटासहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शिक्षक नियुक्तिमा अनियमितता गरेको जनाउँदै आयोगले सापकोटासहित तत्कालीन प्रधानाध्यापक एवम् समिति सदस्य सचिव मित्रलाल पाण्डे, सहायक (लेखा) प्रेमनारायण पाण्डेय, सदस्यहरु वेदबहादुर रानामगर, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेउपर मुद्दा चलाएको छ ।
शिक्षण सिकाई अनुदानअन्तर्गत विद्यालयमा कक्षा ९ र १० को अंग्रेजी, गणित र विज्ञान विषयक शिक्षक नियुक्तिका निम्ति प्राप्त अनुदानबाट ‘प्रचलित ऐन तथा नियमावलीमा उल्लेख भएअनुसार विधि तथा प्रक्रियाको आधारमा नियुक्ति गर्नुपर्ने’ मा उनीहरुको मिलेमतोमा शिक्षक नै नियुक्ति नगरी रकम दुरुपयोग भएको अख्तियारको ठहर छ ।
शिक्षक छनौटको कुनै कानूनी प्रक्रिया पूरा नगरी बेपत्ता व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरेर निजको नाममा नक्क्ली नियुक्तिपत्र, हाजिरी पत्र बनाई गैरकानूनी रुपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा वार्षिक एकमुष्ठ तलब बुझेको अनुसन्धानमा खुलेको बताइन्छ ।
‘गैरकानूनी रुपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुष्ठ तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई लेखापरीक्षणसमेत गरी दुरुपयोग गर्ने बदनियतपूर्ण मनसायले कार्य गरी लाभ लिएको,’ अभियोगपत्रमा भनिएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम आठ लाख ८७ हजार ८८० रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित नौ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
टिप्पणीहरू