एमाले सांसदकी पत्नी छुटेको सहकारी मुद्दामा अध्यक्ष जेल चलान

मोरङको धनपालथान गाउँपालिका-४ स्थित उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु राैनियार पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
सहकारी ठगीको मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि रौनियार मोरङ कारागार चलान भएका छन् ।
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासमेत मुछिएको उमागौरी सहकारी ठगी प्रकरणमा रौनियार मुख्य आरोपी हुन् । यो मुद्दामा अञ्जलासहित २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी गर्दै २७ मङ्सिरमा मुद्दा दायर भएको थियो ।
ङ्सिर २८ गते जिल्ला अदालतले सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका– ४ का पूर्व वडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सहकारीको पूर्व सञ्चालक ऋषिकेश पत्नी अञ्जला भने १० लाख धरौटीमा छुटेकी थिइन् ।
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि केही दिन 'बेपत्ता' बनेकी उनी अदालतमा हाजिर भएकै दिन थुनछेक बहस सकेर धरौटीमा रिहा गर्न आदेश सुनाइएकाले अञ्जलालाई एकदिन पनि थुनमा बस्न परेन ।
टिप्पणीहरू