तालिम भन्दै लाखौं असुली, शिक्षकहरूकाे बिचल्ली

समाजमा ठगीको नयाँ नयाँ शैली देखिन थालेको छ । हालै सिन्धुलीमा शिक्षक शिक्षिकलाई तालिम दिने भन्दै ठगिएको छ । एजुकेशन लर्निङ्ग डेभलपमेन्ट फाउन्डेशन नेपाल नामक संस्थाले तालिम दिने बहानामा प्राथमिक विद्यालयका बालशिक्षिका र कार्यालय सहयोगीलाई ठगेको तथ्य बाहिरिएको छ ।
शनिबारसहित बिदाका दिन तालिम दिने भन्दै बालसहजकर्ता र कार्यालय सहयोगीसँग प्रतिव्यक्ति दुई हजारदेखि तीन हजार रुपैयाँसम्म असुलिएको थियो । तीनपाटन नगरपालिका–५, स्थित शान्तिश्री प्राथमिक विद्यालयकी प्रधानाध्यापक सावित्राकुमारी पुलमी पहिले घर र विद्यालयमै आएर तालिम दिने आश्वासनमा रकम असुलेको तर अहिले सम्बन्धित व्यक्ति नै सम्पर्कविहीन भएको बताउँछिन् ।
आफुलाई एजुकेशन लर्निङ्ग डेभलपमेन्ट फाउन्डेशनको कर्मचारी बताउने विकास चौधरीले उनीसहित अन्यबाट पनि तालिम दिने आश्वासनमा फाराम भराएर रकम संकलन गरेका थिए । ‘ती व्यक्तिले अन्य धेरै विद्यालयका शिक्षक शिक्षिकालाई पनि तालिम दिएको दाबी गरेका थिए । त्यसैले, विश्वासमा परेर पैसा दियौं । तर, पैसा उठाएपछि सम्पर्कविहीन भए,’ उनले भनिन् ।
पुलमीका श्रीमान पनि शिक्षक नै हुन् । त्यसैले, दुवै जना तालिममा सहभागी हुन उनले अस्ति प्रतिव्यक्ति २७ सय रुपैयाँका दरले पाँच हजार चार सय रुपैयाँ बुझाएकी थिइन् । तालिमपछि रकम फिर्ता आउने भनिएको थियो । पुलमीका अनुसार ती व्यक्तिले उनीसँग नागरिकता पनि मागेका थिए । तर, उनले दिन मानिन् ।
‘अरु सबैसँग नागरिकता लिएको रहेछ । मैले दिन मानिन् । नदिएपछि झगडा समेत गरेको थियो,’ उनले भनिन्, ‘अहिले मेरो पैसा डुबेपनि नागरिकता जोगिएको छ ।’ यता, तालिमका लागि हिजो बोलाइएकोमा ती व्यक्ति सम्पर्कविहीन भएको उनको भनाइ छ ।
‘शुक्रबार पैसा बुझाउँदा हिजो तालिम भनिएको थियो । तर, हिजो बिहानैदेखि कल गर्दा उठेन । अहिले त फोनै अफ छ,’ पुलमीले भनिन् । आफूसहित वडा नम्बर ५ मा आठ जना ठगिएको उनले सुनाइन् ।
अन्य वडामा पनि यसरी धेरैलाई ठगेको हुनसक्ने उनको अनुमान छ । ‘म बस्ने वडामा मात्रै आठ जना पीडित छन् । वडा नम्बर ३ मा दुई जना ठगेको सुनेको छु । अन्य वडामा पनि धेरै ठगिएकोजस्तो मलाई लाग्छ,’ उनले भनिन् ।
यसबारे वडाध्यक्षसँग छलफल गरेर प्रहरीमा उजुरी दिने तयारी भइरहेको उनले जानकारी दिइन् । ‘हामी सबै पीडित भेला भएर वडाध्यक्षज्यूसँग कुरा गर्ने सोचेका छौं । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन्छौं,’ उनले थपिन् ।
यता, नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी केही समययता शैक्षिक तालिम दिने नाममा ह्वात्तै ठगीधन्दा मौलाएको बताउँछन् । उनका अनुसार अहिले विशेष गरी पहाडी जिल्लामा यस्ता किसिमका ठगी हुने गरेको छ ।
तालिम दिने बहानामा पैसा उठाउने तर तालिममा नबोलाउने गुनासो आफुहरु कहाँ पनि आउने गरेको उनले बताए । ‘पहाडी जिल्लामा रहेका अधिकांश विद्यालयका बालविकास सहजकर्ता र कर्मचारीहरु यसबाट पीडित बनेका छन् । तालिम दिने बहानामा एउटैबाट दुई हजारदेखि तीन हजार रुपैयाँसम्म असुल्ने र पछि सम्पर्कविहीन भएको गुनासो बढिरहेका छन्,’ उनले भने ।
टिप्पणीहरू