मामाघर आएकी किशोरीको शव गाडिएको अवस्थामा

मामाघर आएकी किशोरीको शव गाडिएको अवस्थामा
सुन्नुहोस्

कलिलो उमेरमै प्रेममा परेपछि सम्बन्ध छुटाउन नेपालस्थित मामाघर ल्याइएकी एउटी किशोरीको हत्या भएको छ । विराटनगर महानगरपालिका–५ स्थित मावली घरमा १४  वर्षीया भारतीय किशोरीको हत्या भएको बताइएको छ ।

स्थानीयको सूचनाको आधारमा मोरङ प्रहरीले भारतीय किशोरी चाँदनी यादवको शव हिजो मावली घर नजिकैको करेसाबारीमा गाडेको अवस्थामा फेला परेको हो । मोरङ प्रहरीले हत्या आशंकामा किशोरीका हजुरबा सर्जु यादवसहित परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

भारतीय राज्य विहारको छपरा जिल्लाकी ती किशोरी केही दिनअघि आमाबुबासँगै  मावल आएकी थिइन् । उनलाई छाडेर उनका आमाबुबा मात्रै भारत घर फर्किएका थिए । त्यसपछि एकाएक उनी गायब भएको बताइन्छ ।

छिमेकीहरुलाई शंका लागेपछि मोरङ प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले किशोरीका मावलीतर्फका हजुरबा सर्जु यादव र भारतमा रहेका आमाबुबासँग  सोधपुछ गर्ने क्रममा दुबैको भनाई फरक पाएपछि आशंका बढेको हो । प्रहरीले यादवको घर नजिकै तोरीको लट्टेले छोपेको आलो माटो देखिएपछि उत्खनन् गर्दा किशोरीको शव गन्हाएको अवस्थामा फेला पारेको हो । 

हत्याबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू