‘एनिभर्सरी’ नआउँदै डिभोर्स, एलिना मानाचामल नमाग्ने

गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । उनले वारेस विष्णु खरेलमार्फत् आज काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा हालेकी हुन् ।
श्रीमान विष्णु सापकोटाले आफ्नो चरित्रमाथि शंका गर्दै आएकाले अलग हुने निर्णयमा पुगेको उनले फिरादपत्रमा उल्लेख गरेकी छन् । तर श्रीमानबाट अंश तथा मानाचामल भने नलिने उनको इच्छा छ ।
फिरादपत्रमा लेखिएको छ,‘म कलाकारिता क्षेत्रका विभिन्न कार्यक्रमहरुमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका–उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्नेदेखि फिरादी र विपक्षी पतिबीच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पतिपत्नीको सम्बन्धमा रहनु बस्नुभन्दा मुलुकी देवानीसंहिता, २०७४ को दफा ९५ (ग) का आधारमा सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा मानाचामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु ।‘
लामो समय मायाप्रेममा रहेका एलिना र विष्णु गत वैशाख ५ गते वैवाहिक बन्धनमा बाँधिएका थिए । विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया गएकी उनी तीन महिनामै फर्किइन् । त्यसपछि ओशो तपोवन पुगेकी एलिनाको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको थियो । उनी सम्बन्धविच्छेद गर्ने उद्देश्य लिएरै त्यतिबेला नेपाल आएको वारेस खरेलले बताए ।
टिप्पणीहरू