उतिबेला खाएको जग्गा बल्ल फिर्ता

सार्वजनिक रूपमा उपयोग हुँदै आएको जग्गा व्यक्तिका नाममा बनाउने जनप्रतिनिधिको हर्कतलाई अदालतले ३७ वर्षपछि उल्टाएको छ । शारदा बतासे गाविस वडा नम्बर ५ हाल धुलिखेल नगरपालिका–१० स्थित कित्ता नम्बर १४ उल्लेख भएको २०–८–१–२ क्षेत्रफलको प्लट पनि पञ्चायतकालमा आफैँ वडाध्यक्ष भएको बखत बलराम पराजुलीले शुरुमा भाइ कृष्णप्रसादका नाममा नापेर आमाको नाममा सारी २०४५ सालमा छुट दर्ता गराएका थिए ।
०४५ साल फागुनमा दर्ता गरेको उक्त जग्गा २०५५ सालमा आफ्नो नाममा ल्याएर २०७५ सालमा ४८ लाख रूपैयाँमा बिक्री गरे । सोही जग्गा खरिद गर्ने विदुरबहादुर बस्नेतसहित चार जनाको समूहले ट्रायल चेक गरी २२ रोपनी २ आना ३ दाम बनाएको छ । उक्त जग्गासँगै कित्ता नम्बर १५ मा उल्लेख भएको वन क्षेत्रको ९ रोपनी १५ आना र थप १४ आनासमेत प्लटिङविरुद्ध स्थानीयले वडा कार्यालयमा उजुरी दर्ता गराएका थिए । चलनचल्तीअनुसार उक्त जग्गाकोे मूल्य २०७६ सालमा ७ करोड रूपैयाँ पर्ने थियो ।
विदुर नेपाली कांग्रेस धुलिखेल नगरका सभापति हुन् । कांग्रेसले टिकट नदिएपछि २०७९ सालमा स्वतन्त्र रूपमा धुलिखेल नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका थिए । ०७६ सालमा ७७ वर्षीय स्थानीय प्रेमबहादुर केसीले कित्ता नम्बर १५ को पूरै भाग वन जंगल भएको र सोही कित्ता १४ र १६ नम्बरको बीचमा रहेकाले आफूले जानेदेखि नै वस्तुभाउ चराउने सार्वजनिक पाखोको रूपमा प्रयोग भएकाले प्लटिङ हुनु र व्यक्तिका नाममा जानु दुःखद भएको बताएका थिए । ‘कि भगवान् जान्दछन्, कि गर्नेले जान्नुप¥यो’– उनले भने– ‘गाई चराउने पाखो कसरी व्यक्तिगत हुन सक्छ ?’ स्थानीय रामकृष्ण विष्टले कित्ता नम्बर १७९ सँग साविकको कित्ता नम्बर १५ जोडिएकाले १४ नम्बर कित्ताभित्र वन कसरी पस्यो ? अनभिज्ञ भएको जानकारी गराएका थिए।
‘२०३२ सालसम्म सार्वजनिक जग्ग्गा हालसम्म पनि गाई चरनका रूपमा स्थापित थियो, एकाएक कसरी प्लटिङ हुन पुग्यो ?’ उनले भने– ‘२०४५ सालमा छुट जग्गा दर्ता गराउँदा सबै वन क्षेत्रकोे जमिन आफ्नो नाममा गराएका रहेछन् । १४ नम्बर कित्तामा १४ रोपनी जमिन थियो २०४५ साल फागुन २४ गते २०–८–१–२ रोपनी बनाउँदै २०७५ सालमा २२ रोपनी बनाइएको छ । उत्तर १० नम्बर कित्ता, दक्षिण १६ नम्बर कित्ता, पश्चिम सिमाना शारदा बतासे पञ्चायत ३ (ख) मा रहेको यो जग्गा डिमारकेशान भित्रको जंंगल सिमानाको जंगल हो भनी तत्कालीन वडा अध्यक्ष बलराम पराजुली स्वयंले प्रमाणित गरेका थिए।
२०४४ साल असार ३० गते बलराम र कृष्णप्रसाद पराजुलीकी आमा रेशमकुमारीले छुट दर्ताका लागि मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा १७८४ नम्बरमा निवेदन दर्ता गराएकी थिइन् । उनले २०४२ साल चैत्र १४ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट १९४५० नम्बरको नागरिकता लिएकी थिइन् । कित्ता नम्बर १४ को २०–८–१–२ क्षेत्रफलको जग्गा भूलबस छोरा कृष्णप्रसाद पराजुलीका नाममा दर्ता भएकाले आमाको नाममा दर्ता गरीपाऊँ भनी २०४४ असार ३१ गते शारदा बतासे गाउँ पञ्चायत कार्यालयमा निवेदन दर्ता गराएका थिए । बलरामले आमाभन्दा १५ वर्षअघि २०२७ साल मंसिर ३ गते जिल्ला प्रशासन काभ्रेबाट ७७ नम्बरको नागरिकता लिएका थिए।
गाउँपञ्चायतको सिफारिस, जग्गा दर्ता गर्ने रेशमकुमारीको निवेदनका आधारमा मालपोतले विभिन्न मितिमा गरेको टिप्पणी, अभिलेख र नाप जाँचका आधारमा भन्दै छुट जग्गा दर्ता गरिदिएको थियो । अब भने जिल्ला अदालतले उक्त जग्गा वनमा नै कायम हुने फैसला गरेको छ ।
– मोतीराम तिमल्सिना
टिप्पणीहरू