अर्बौं पर्ने ५३ रोपनी जग्गा कसले खायो ?

अर्बौं पर्ने ५३ रोपनी जग्गा कसले खायो ?
सुन्नुहोस्

– यदुनाथ बञ्जारा 

पोखराको मुख्य प्रवेश नाका अमरसिंहचोकस्थित ५३ रोपनी जग्गा रहस्यमय ढंगले गायब भएको छ । अमरसिंह माध्यमिक विद्यालयको नाममा श्रेस्ता पुर्जासमेत रहेको कूल २०७ रोपनी जग्गामध्ये हाल १५४ रोपनी मात्रै बाँकी हुन आएको खुल्न आएको बुझिएको छ । ०३२ सालको नापीबमोजिम उक्त माविका नाममा २०७ रोपनी जग्गा कायम रहेको र सोहीबमोजिमको लालपुर्जा विद्यालयसँग रहेको प्रधानाध्यापक शेरबहादुर थापाले बताए । २०७२ सालमा जिल्ला नापी कार्यालय कास्कीले गरेको नापी (हाल साविक) मा अमरसिंह माविका नामको ५३ रोपनी जग्गा गायव बनाइदिएको खुलेको हो । 

सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बस्नेको नाममा नापी गरिएको हुन सक्ने स्थानीय जानकारहरूको आशंका छ । त्यसरी सरकारी जग्गा नापी गर्दा तत्कालीन प्राविधिक र कर्मचारीले शुभलाभ लिई कैफियत गरेको हुन सक्ने बुझिएको छ । अर्बौं पर्ने जग्गा सँधियारको अतिक्रमणको शिकार बनाइँदा मोटै रकमको चलखेल भएको विकसित घटनाक्रमले संकेत गरेको छ । 

नौ वर्षअगाडि नापी कार्यालयले बिना सूचना अर्बांै पर्ने ५३ रोपनी जग्गा गायब पार्दासम्म विद्यालयले कुनै चासो नराख्नुलाई पनि शंकाको रूपमा लिइएको छ । हालको व्यवस्थापन समितिले हराएको जग्गा खोजी गर्न नापी कार्यालय कास्कीलाई पत्राचार गरेको छ । विद्यालय रहेको वडा नम्बर १२ कार्यालयले पनि हराएको जग्गा पत्ता लगाई विद्यालयका नाममा साविक अवस्थामा ल्याउन अनुरोध गरेको छ । वडाध्यक्ष सन्तोष बास्तोलाले निर्वाचित भई आएदेखि नै हराएको जग्गा खोज्न तदारुकता देखाएका थिए । 

अख्तियारले विज्ञ प्राविधिकसहितको टोली खटाई तत्कालीन ब्लु प्रिन्ट र ०७२ को नाप–नक्सा अध्ययन गर्ने हो भने सो जग्गा कसले दियो, कसले खायो वास्तविक कैफियत खुल्न सक्ने धेरैले लख काटेका छन् । 

 

टिप्पणीहरू