अमेरिकी नेतृत्व परिवर्तन र यता पर्ने असर

अमेरिकी नेतृत्व परिवर्तन र यता पर्ने असर

अमेरिकन राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएसँगै हस्ताक्षरित नयाँ कानुनहरूले संसारभर ठूलै डंका पिटेका छन् । जसमध्ये अवैध रूपमा रहेका आप्रवासीको निश्कासन, सीमामा कडाइ, जन्मनेबित्तिकै अमेरिकन नागरिक हुने हकको खारेजीलगायत वैश्विक शान्ति सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने पनामा, क्यानाडासम्बन्धी धारणा र रुस–युक्रेन युद्धसम्बन्धी नीति रहेका छन् । यसै मेसोमा अमेरिकन सरकारले उपलब्ध गराउँदै आएको सहयोग नेपाललगायत संसारका धेरै मुलुकले नपाउने आदेश जारी भएको छ । त्यसो त अमेरिकाले बिआरआइकै हाराहारीमा ल्याएको मिलेनियम च्यालेन्ज कर्पोरेशन परियोजना पनि धरापमा पर्ने अवस्था देखिएको छ । नेपालको पूर्वाधार निर्माणमा चिनियाँ र भारतीय अगाडि छन्।

अमेरिकाले नेपाललाई दिने सहयोग प्रायः सफ्टवेयरसम्बन्धी हुने गरेको छ । जस्तै:  युएसएआइडीको पब्लिक फाइनान्सियल प्रोजेक्टअन्तर्गत कन्सल्टेन्ट (परामर्शदाता) भर्ना र प्रणाली सुधारका प्रतिवेदन निर्माण पनि यसैमा पर्दछन् । लैंगिक मुद्दा, शान्ति, सुशासन, मानवअधिकारलगायत विषयमा अमेरिकाको उत्साहजनक सहभागिता रहने गरेको छ । धार्मिक र अल्पसंख्यकलगायत विभिन्न विषयमा सवलीकरणका योजना उसले सञ्चालन गर्दै आएको पाइन्छ । प्रहरी र सेनालाई पनि विभिन्न तालिमको अवसर जुटाएर सम्बन्ध र सम्पर्क विस्तार गर्दै आफ्नै सूचना संयन्त्र खडा गर्नु उसको प्राथमिकता हो ।

शीतयुद्धको बेला कम्युनिष्ट मुलुक सोभियत संघले पूर्व–पश्चिम राजमार्ग, वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना बनाइदिएको थियो । छिमेकी मुलुक चीनले पृथ्वी, अरनिको राजमार्ग, हरिसिद्धि इँटा टायल कारखाना, उपत्यकामा ट्रली बस, बाँसबारी छालाजुत्ता, भृकुटी कागज, गोरखकाली रबर, लुम्बिनी चिनी कारखाना, हेटौंडा कपडा कारखाना बनाइदियो ।

तर अमेरिका र युरोपियन युनियनले नेपालमा भौतिक पूर्वाधारभन्दा अरु विषयमा सहयोग गरेको अवस्था छ । अमेरिकाले सामाजिक समावेशिताको कुरा गर्दा बेलायतले भौतिक संरचना निर्माणमा भरथेग गरेको पाइन्छ । केही दशकदेखि त्यस्तो सहयोग पनि शून्यको अवस्थामा छ । माओवादी द्वन्द्वताका उसले आतंकवादसँग लड्ने नाममा जहाज, तालिम, उपकरणजस्ता सहयोग उपलब्ध गराएको थियो ।  

अमेरिकाले चाल्ने अबको कदममध्ये अवैध आप्रवासीका हकमा हुने निर्णयले नेपाली आप्रवासीका लागि मात्र नभएर विश्वभरबाट गएकालाई असर पार्ने निश्चित छ । नेपाली आप्रवासी फर्किनैपर्ने अवस्था भए पनि ती एक–एकवटा अवसर खोजेर युरोप, अष्ट्रेलियालगायत मुलुकतिरै जाने पक्का छ । 
 

टिप्पणीहरू