बालेनका कारण काठमाडौंमा आतंक मच्चिएको प्रधानमन्त्रीको दाबी

बालेनका कारण काठमाडौंमा आतंक मच्चिएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरमा आतंक मच्चिएको भन्दै मेयर बालेन साहलाई कटाक्ष गर्नुभएको छ । आज ललितपुर महानगरपालिकाको स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले काठमाडौँ महानगरवासीले साह्रै दुःख पाएको बताउनुभएको हो । 

एमाले अध्यक्षसमेत रहनुभएका ओलीले ललितपुर नगर प्रहरीले काठमाडौँ नगर प्रहरीभन्दा धेरै राम्रो काम गरेको पनि जिकिर गर्नुभयो । बालेनलाई लक्षित गर्दै भन्नुभयो, ‘ललितपुर नगर प्रहरीले गुरर.. जीपमा कुँदेर, झ्याप गाडी रोकेर, सिठ्ठी बजाउँदै आतंक मच्चाउँदै, ठेला कब्जा गर्दै, गरिबका तरकारी, टमाटर फालिदिएको मैले देखेको छैन ।’

जनताको सेवामा खटिएपछि ‘हाकिम हुँ’ भन्ने प्रवृत्ति बिर्सनुपर्ने उहाँको तर्क छ । नगरप्रहरी देख्दा जनतालाई सुरक्षित महशुस हुनुपर्ने बताउँदै थप्नुभयो, ‘नगर प्रहरी आउँदा जनता आफ्ना सामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतंकमा हुनुहुँदैन । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ, हामीभित्र घमण्ड पस्नु हुँदैन ।’

त्यस्तै, उहाँले सडकमा इन्टिलिजेन्ट ट्राफिक लाइट जोडेकोमा ललितपुर महानगपालिकाको प्रशंसासमेत गर्नुभएको छ । मेयर चिरीबाबु महर्जनको तारिफ गर्दै भन्नुभयो, ‘दुई चार वर्षअघिसम्म यो शब्दै पनि सुन्न नसकिने कुरा हो, इन्टिलिजेन्ट ट्राफक लाइट । ट्राफिक लाइट यसो रातो, पहेँलो बाल्न त गाह्रो थियो भने, यहाँ त इन्टिलिजेन्ट ट्राफिक लाइट भयो । यो त कल्पनै गर्न गाह्रो थियो । ललितपुर महानगरले सुरु गरिसक्यो । अर्थात् हामी अगाािड बढिसक्यौं ।’

मेयर महर्जनले उक्त कार्यक्रममा सहभागी भइदिन बालेनलाई पनि निम्ता पठाएका थिए । तर, बालेन भने कार्यक्रममा गएनन् ।

टिप्पणीहरू