स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा आधाभन्दा बढी फेल
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को एघारौं नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सोमबारदेखि हिजोसम्म सञ्चालित लाइसेन्स परीक्षाको सार्वजनिक नतिजाअनुसार ५० प्रतिशत परिक्षार्थी अनुतीर्ण भएका छन् ।
स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नतिजालाई औसतमा हेर्दा यस पटक ४४ दशमलब ७४ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएको देखिन्छ । स्नातकोत्तर तहमा ४५ दशमलब ९८ प्रतिशत, स्नातकमा ६५ प्रतिशत ६५ प्रतिशत र प्रमाणपत्र तहमा २२ दशमलब ५९ प्रतिशत उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।
स्नातकोत्तर तहअन्तर्गत एमडी होमियोप्याथी, एमएस्सी अप्टोमेट्री लगायत विभिन्न १८ विषयका ८७ जना लाइसेन्स परीक्षामा सहभागी भएका थिए । तीमध्ये ४० जना उत्तीर्ण हुँदा ४७ जना परीक्षार्थी फेल भएका हुन् ।
त्यस्तै, स्नातकतर्फ व्याचलर इन एनेस्थेसिया, व्याचलर इन अप्टोमेट्रीलगायत विभिन्न १३ विषयका एक हजार ४०३ जनाले परीक्षामा सहभागिता जनाएका थिए । तीमध्ये ९२१ जना पास र ४८२ जना अनुतीर्ण भएको परिषद्ले बताएको छ ।
यता, प्रमाणपत्र तहअन्तर्गत पीसीएल इन डेन्टल हाइजीन, पीसीएल इन फीजीओथेरापीलगायत विभिन्न ९ विषयका एक हजार ९६१ जना परीक्षामा सहभागी भएकोमा ४४३ जना मात्रै पास भएका हुन् । एक हजार ५१८ जना फेल भएको उल्लेख छ ।
टिप्पणीहरू