महादेशकै धनी व्यवसायीका बुहारीलाई प्रधानमन्त्रीको आशिर्वाद

डलर अर्बपति तथा एसियाका सबैभन्दा धनी मुकेश अम्बानीपुत्र अनन्त अम्बानीको आज बिबाह हुँदैछ । प्रि–वेडिङको चार महिनापछि भारतीय हिन्दू परम्पराअनुसार आज वरमाला र फेरा हुन लागेको हो ।
मुम्बईको जियो वर्ल्ड सेन्टरमा हुने बिबाह समारोहका लागि आसपासका क्षेत्रमा दुई हजारबढी सुरक्षकर्मी परिचालन गरिएको छ । अम्बानी परिवार एन्टिलियाबाट जन्ती लिएर निस्किसकेको छ ।
साँझ ८ बजे वरमाला र साढे ९ बजे फेरा लगाउने कार्यक्रम छ । जियो वर्ल्ड सेन्टरलाई बनारसी परम्पराअनुसार सजाइएको छ । मुम्बइको अन्तर्राष्ट्रिय एयरपोर्टमा पनि थप सुरक्षाकर्मी परिचालन गरिएको छ । बिबाहमा सहभागी हुन लाउने विदेशी सेलिब्रेटी र भिआइपी पाहुनाका लागि सुरक्षा बढाइएको जनाइएको छ ।
दुलाहा–दुलहीलाई आर्शिवाद दिन भोलि बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वराष्ट्रपति रामनाथ कोविन्द, रक्षामन्त्री राजनाथ सिंह र कृषिमन्त्री शिवराजसिंह चौहान जियो वर्ल्ड सेन्टर पुग्दैछन् । त्यस्तै, विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु योगी आदित्यनाथ, एमके स्टालिन, एकनाथ शिन्दे, एन चन्द्रबाबू पनि जानेछन् ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी भने समारोहस्थलमा पुगेसकेकी छन् । त्यस्तै, कलाकारहरु अमिताभ बच्चन, ऐश्वर्या राय, शाहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, प्रियंका चोपडा, निक जोनस, दीपिका पादुकोण, रणवीर सिंह, आलिया भट्ट, रणवीर कपूर, जान्हवी कपूर, सारा अली खानलगायत पनि समारोहस्थलमा पुगेका छन् ।
अम्बानी परिवारले आगामी तीन दिनसम्म पाहुनाका लागि भोजको आयोजना गरेको छ ।
अनन्त अम्बानी र राधिका मर्चेन्टले सन् २०२३ जनवरी १९ मा इन्गेजमेन्ट गरेका थिए । त्यसपछि गत मार्च १ देखि ३ सम्म पहिलो प्रि–वेडिङ आयोजना गरियो । मे २९ देखि जुन १ सम्म दोस्रो प्रि वेडिङ र जुलाई २ देखियता निरन्तर संगीत समारोह भइरहेको छ ।
अम्बानी परिवारले पाहुनाको निम्ति मुम्बईका डेढ सयभन्दा बढी महंगा होटलहरु बुक गरेको छ । आइटिसी, दी ललित, ताज प्यालेसजस्ता पाँच तारे होटलमा बस्ने पाहुनालाई घरसम्म पुर्याइदिन निजी विमानको व्यवस्थापन गरिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टिप्पणीहरू