शपथ ग्रहणपछि छिमेकका मुख्यमन्त्रीले गरे नेपालको चर्चा

शपथ ग्रहणपछि छिमेकका मुख्यमन्त्रीले गरे नेपालको चर्चा

सिक्किमका नवनियुक्त मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले नेपालसँगको सम्बन्ध बिस्तारलाई प्राथमिकताका साथ उठाएका छन् । 

दोस्रो कार्यकालका लागि आज मुख्यमन्त्रीको सपथ लिएलगत्तै उनले सिक्किम-नेपाल सम्बन्ध विस्तारका लागि थप पहल गर्ने घोषणा गरेका हुन् । नेपाल छिर्ने चिवा भञ्ज्याङ् सीमा सुचारु गराउन सिक्किमतर्फको सडक निर्माण लगायतमा कामहरु बाँकी रहेको जनाउँदै उनले त्यसलाई पूर्णता दिने बताए ।

गान्तोकको पालजोर स्टेडियममा विशेष समारोह बिच गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गराए । त्यस्तै, मन्त्रिपरिषद्का ११ जनाले पनि शपथ लिएका छन् । मन्त्री हुनेहरुमा विधायक सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुंगेल, पुरनकुमार गुरुङ, पिन्ट्सो नामग्याल लेप्चा, नर बहादुर दहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटिया छन् ।

सिक्किममा गत १९ अप्रेल २०२४ मा सम्पन्न विधानसभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ मध्ये ३१ सिटमा जीत हासिल गरेको थियो ।

टिप्पणीहरू