इएफटीमार्फत महिनैपिच्छे तलब आउने भएपछि शिक्षकहरु हर्षित

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत तलब दिन थालेको छ ।
पालिकाले इएफटीमार्फत सोझै बैंक खातामा तलब पठाउने व्यवस्था मिलाएको हो । अध्यक्ष विद्यानन्द चौधरीले सोसम्बन्धी जानकारी दिँदै बुधबार सखडा विद्यालयका शिक्षक कर्मचारीको तलब इएफडीमार्फत पठाएको बताए ।
उनका अनुसार पालिकाले यस्तो कार्यको थालनी गरेसँगै मधेश प्रदेशमै पहिलो पटक सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई इएफटीमार्फत सोझै बैंक खातामा तलब पठाउने कार्यको सुरु भएको छ ।
‘त्रैमासिक रुपमा हुँदै आएको शिक्षक कर्मचारीको तलब मासिक रुपमा दिन थालेपछि उनीहरूलाई सहज हुनेछ,’ अध्यक्ष चौधरीले भने, ‘हामीले इएफटीमार्फत सोझै बैंक खातामा तलब पठाउने काम सुरु गरिसकेको छौँ ।’
प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दका अनुसार पालिकाभित्र सञ्चालनमा रहेका १९ वटा विद्यालयका एक सय ६७ जना शिक्षक कर्मचारी यसबाट लाभान्वित हुनेछन् । त्रैमासिक रुपमा पाउँदै आएको तलब मासिक रुपमा प्राप्त भएसँगै शिक्षक कर्मचारीहरुको दैनिक कामकाजमा पनि सहज हुने उनको विश्वास छ ।
यता, मासिक रुपमा तलब पाउने भएपछि शिक्षकहरू पनि उत्साहित छन् । एक शिक्षकले भने, ‘पहिला तीन महिनामा तलब आउँथ्यो । अनि घर खर्च चलाउन धेरै ऋण सापटी लिनुपथ्र्यो । अब मासिक रुपमा तलब आउने भएसँगै ती चिन्ताबाट आराम मिलेको छ ।’
सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममार्फत शिक्षकको तलब मासिक रुपमा दिने घोषणा गरेको थियो । सरकारको उक्त निर्णयसँगै शिक्षकहरुमा थप उर्जा थपिएको छ ।
पालिकाका अर्का शिक्षकले भने, ‘मासिक रुपमा तलब पाएपछि गर्जो टार्न पनि सजिलो हुन्छ । घर चलाउन बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिनुपर्दैन । यसले हाम्रो समग्र समस्या समाधान गर्दै मानसिक रुपमा पठनपाठन गराउन थप ऊर्जा प्रदान गरेको छ ।’
टिप्पणीहरू