गरिब परिचयपत्र हुनेलाई अस्पतालमा निःशुल्क उपचार

गरिब परिचयपत्र हुनेलाई अस्पतालमा निःशुल्क उपचार

आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसकेका बिरामीले काठमाडौं महानगरपालिकाभित्रका निजी तथा साझेदारी अस्पतालमा निःशुल्क उपचार पाउने भएका छन् । 

महानगरले गरिब परिचयपत्र भएका बिरामीले सोझै अस्पतालमा गएर सेवा लिन सक्नेगरी नि:शुल्क उपचारको व्यवस्था मिलाएको हो । लक्षित वर्गको निःशुल्क उपचारका लागि महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा साझेदारी अस्पतालहरुलाई पत्राचार गरिएको स्वास्थ्य विभागको निमित्त विभागीय प्रमुख सजिना महर्जनले बताइन् । 

गत फागुन १ गतेदेखि निःशुल्क उपचार शुरु गरिएको उनले जानकारी दिइन् । उनका अनुसार गरिबी परिचयपत्र नभएका बिरामीहरुले ‘काठमाडौं महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को अनुसूची २ बमोजिम निवेदन र आर्थिक अवस्था खुल्ने फाराम भरेर सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । 

वेवारिसेको हकमा वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । 

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७० (घ) र काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा २८ मा सम्पूर्ण अस्पतालहरुले कूल शैय्याको १० प्रतिशत शैय्या लक्षित वर्गलाई निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने उल्लेख छ ।
 

टिप्पणीहरू