प्रचण्ड चीनको असल साथी - नेता वाङ

प्रचण्ड चीनको असल साथी  - नेता वाङ

चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च तहका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको असल मित्र भएको बताउनुभएको छ । 

चीनको एक साता लामो औपचारिक भ्रमणका क्रममा आज छेन्दु पुग्नुभएका प्रचण्डसँग द्दिपक्षीय भेटवार्ताका क्रममा सिचुवान प्रान्तका सेक्रेटरी एवं प्रान्तीय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष वाङ सियाओहुईले यस्तो धारणा राख्नुभएको हो । त्यसक्रममा उहाँले चीनको असल साथी प्रचण्डकै नेतृत्वमा दुई देशबीचको सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी चिनपिङ, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट र दुई देशको तर्फबाट जारी स्टेटमेन्टको स्मरण गर्दै द्धिपक्षीय हित र चासोका सन्दर्भमा कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले नेपाल र चीनबीच सम्पन्न नयाँ व्यापार सन्धिले नेपाल अब भूपरिवेष्ठित देश नभई भू-सम्बन्ध जोड्ने देश भएको समेत उल्लेख गर्न्नुभयो । 

नेता वाङले नेपाल र चीनबीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेकोसमेत त्यसक्रममा बताउनुभएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि (शनिबार) छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ ।


 

टिप्पणीहरू