मुस्ताङको स्वादीलो स्याउ बजारमा

जिल्ला समन्वय समिति मुस्ताङको आयोजना भएको अन्तरपालिका बैठकको निर्णय बमोजिम भदौ महिनाभर नटिपि गुणस्तर कायम गर्न राखिएको स्याउ आसोज १ गते बाट टिप्न थालिएको छ । अन्तरपालिका बैठकको निर्णय कार्यान्वयन गरेपछि असोज १ गतेबाट स्याउ बजार पठाउन थालिएको हो ।
अन्तरपालिका बैठकमा स्याउ चाँडै टिपेर बजार पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाथ नहुने भएकाले भदौ महिना सम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजार पठाउने निर्णय भएको थियो । जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीका अनुसार स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान यथावत राख्ने उद्देश्यले असोज १ गते पछि मात्रै स्याउ टिप्न मुस्ताङका पाँच वटै स्थानीय तहका अध्यक्षहरुले प्रतिबद्धता जनाउनुभएको थियो । प्रतिबद्धता जनाउनुभएका अध्यक्षहरुले आ–आफ्नो स्थानीयतहका किसानलाई स्याउ असोज लागेपछि मात्रै टिप्न अनुरोध गर्नुभएको र असोज लागे सँगै स्याउ टिपेर बजार पठानका लागि कुनै समस्या नहुने उपप्रमुख थकालीको भनाई छ ।
भदौ महिनामै स्याउ टिपेर बिक्रिका लागि राखेको भन्दै घरपझोङ गाउँपालिकाले भदौको तेश्रो हप्ता निर्णय भएको मिति भन्दा अगाबै स्याउ टिपेर बेच्न राखेको पाइएकोले जफत गरेको थियो । कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार पछिल्ला दिनहरुमा इटालीयन उच्च घनत्वको स्याउ खेती जिल्लामा विस्तार हुँदै आइरहेको छ । मुस्ताङमा उच्च घनत्वका स्याउका एक लाख ६७ हजार बिरुवा कृषकले खरिद गरिसकेको उहाँको भनाई छ ।
मुस्ताङ जिल्ला भित्र हाल रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस जातका स्याउ खेती हुँदै आइरहेको छ । त्यस्तै नयाँ जातका अर्थात् उच्चघनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका विरुवा लगाइएको छ ।
यस वर्ष फूल फुल्ने वेलामा एक दुई हप्ता लगातार बर्षा हुँदा फूलका परागकणहरू सबै पखालिएको र परागशेचन गर्ने कीराहरूको कम उपस्थितीका कारण गत बर्षको तुलनामा यस बर्ष स्याउको उत्पादनमा करिव ४०–५०% कम हुने देखिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयको भनाई छ । शीतोष्ण बागवानी विकास केन्द्रमा उत्पादीत स्याउ विक्रीका लागि पनि असोज १ गते टेण्डर बुझाउने अन्तिम दिन रहेको उहाँले जानकारी दिनुभयो । टेण्डर पछि असोज २ गते पछि मात्रै फार्मको स्याउ बिक्रिका लागि बजार जाने उहाँको भनाई छ ।
टिप्पणीहरू