सवारी चालकहरुले अटेर गर्दा

सवारी चालकहरुले अटेर गर्दा

गत शनिबार बिहान राजधानीको जोरपाटी चोकमा नराम्ररी कार दुर्घटनामा पर्यो । रातो रङको कार व्यक्तिको घरमा ठोक्किँदा ध्वस्त भएको थियो । पूरै घोप्टिएको अवस्थामा भेटिएको कारले घरलाई ठक्कर दिँदा पर्खाल पनि भत्कियो । ठूलो सडक भए पनि गलत साइडबाट कार चलाउन खोज्दा दुर्घटना भएको हो । 

पछिल्लो समय सवारी दुर्घटना क्रम ह्वात्तै बढेको छ । यसको प्रमुख कारण भने सवारी चालकको लापरवाही नै हो । ट्राफिक प्रहरीले ट्राफिक सचेतनाका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट जनचेतना फैलाउने काम पनि भइरहेको छ । 

तर, मादक पदार्थ सेवन, मोबाइलमा कुरा गर्दै सवारीसाधन चलाउनु र ओभरलोडका कारण गाडी दुर्घटनामा पर्ने गरेको छ । सार्वजनिक यातायातका चालकले जथाभावी यात्रु चढाउने र ओराल्ने गरेका छन् । बसस्टप भए पनि चालक र सहचालकले अटेर गर्दै आएका छन् । ठुल्ठूला स्वरमा गीत बजाएर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम धेरै हुन्छ । 

त्यस्तै, ढोकैसम्म खाँदेर यात्रु कोच्ने क्रम उस्तै छ । ट्राफिक प्रहरीले ढोका लगाएर सवारी साधन सञ्चालन गर्न निर्देशन दिँदै आएको छ । तर पनि, चालक र सहचालकले यसलाई गम्भीरतापूर्वक लिएका छैनन् । 

ढोका खुल्ला राखेर कानको जाली फुट्ने गरी हर्न बजाउन पनि रोकिएको छैन । सार्वजनिक बसस्टप, जेब्राक्रस,रोक्न निषेध र नो पार्किङ्ग एरियाभित्र सवारी साधन रोक्नुहुँदैन भन्ने थाहा हुँदाहुँदै पनि निजी सवारीधनीहरुले मान्दैनन् । 

‘युटर्न’ र ‘लेफ्ट टर्न’ मोड्न निषेध क्षेत्रबाट जबरजस्ती आफ्नो सवारी साधन मोडेर नचलाउन ट्राफिक प्रहरीले आग्रह गर्दै आएको छ । विडम्बना, सवारी चालकहरुले अटेर गरी आफूसंगै सवारी साधनका यात्रु र पैदल यात्रुको ज्यानसमेत जोखिममा पार्ने गरेका छन्।

टिप्पणीहरू