प्रदेश सरकारका कारण प्रादेशिक अस्पतालको बिजोग

प्रदेश सरकारका कारण प्रादेशिक अस्पतालको बिजोग

ऋषि भट्टराई 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई प्रदेश सरकारले अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । पहिलो प्रदेश सरकारले तीन वर्षअघि अनुदान उपलब्ध गराउने आश्वासन दिए पनि पछिल्ला वर्षमा उक्त रकम प्राप्त नहुँदा समस्या बढेको बताइएको छ ।

लुम्बिनी अञ्चलकै पुरानो अस्पताललाई गौरवको आयोजना अन्तर्गत स्तरोन्नती गर्ने भन्दै स्थायी आम्दानीको स्रोतका रूपमा रहेको व्यावसायिक सटर भत्काइएपछि अस्पताल सञ्चालनमा समस्या परेको जानकारी दिइएको छ । प्रदेश सरकारले दुई वर्षसम्म अनुदान उपलब्ध गराएपनि त्यसपछि प्राप्त नहुँदा अस्पताल सञ्चालनमा आर्थिक स्रोतको समस्या थपिएको हो ।

अस्पताल प्रशासनले अस्पताल सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको जनाउँदै विभागीय प्रमुख, शाखा प्रमुख र वार्ड इञ्चार्जसँग अस्पतालको सेवा प्रवाह र विकासका विषयमा छलफल कार्यक्रम गरेर निकास खोज्ने प्रयास गरेको बताइन्छ । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारले घोषणा गरेको अनुदान रकम उपलब्ध नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको बताए ।

प्रदेश सरकारले अस्पतालका सटरहरु भत्काएर आधुनिक अस्पताल बनाउने योजनाअनुरुप वार्षिक छ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । मेडिकल सुपरिन्टेन्डेन्ट डा सुदर्शन थापा क्षेत्रीले बिरामीको अधिक चाप र अस्पतालको सीमित साधन स्रोतका कारण अस्पताल सञ्चालनमा कठिनाइ उत्पन्न भएको स्वीकारेका छन् । 

अस्पतालबाट दैनिक १५ सय बिरामीले स्वास्थ्य सेवा लिँदै आएका छन् । अस्पतालको सेवा र गुणस्तरमा वृद्धि भएपनि गत वर्ष प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा अस्पतालको जनरल र बहिरङ्ग सेवाअन्तर्गत टिकट निःशुल्क गर्ने घोषणा गरेको थियो । त्यसवापत अस्पताललाई दिनुपर्ने अनुदानसमेत प्रदेश सरकारले उपलब्ध नगराएपछि थप समस्या परेको बताइन्छ ।

अस्पतालको सामान्य सेवालाई थेग्नुपर्ने अवस्था बढ्दै गएको र आर्थिक स्रोत खुम्चिँदै गएपछि जनशक्तिको समेत अभाव हुन थालेको छ । सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई तीन सय शैयाको स्वीकृति दिए पनि अहिले अस्पतालमा पाँच सय शैयाको सुविधा रहेको जानकारी दिइएको छ । अस्पताल प्रशासनका अनुसार कोरोना महामारीमा भर्ना गरिएका करार र सञ्चालक समिति मार्फत् भर्ना भएका बाहेक अन्य कर्मचारीले वैशाखदेखि तलब समेत पाएका छैनन् ।

टिप्पणीहरू