प्रधानमन्त्रीको पत्रकार सम्मेलन नजिकैबाट एक दर्जन क्रान्तिकारी पक्राउ

प्रधानमन्त्रीको पत्रकार सम्मेलन नजिकैबाट एक दर्जन क्रान्तिकारी पक्राउ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गरिरहँदा अखिल क्रान्तिकारीका १३ जना विद्यार्थी पक्राउ परेका छन् । नेकपा बहुमत पार्टी निकट अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ताले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नाराबाजी गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको हो ।

उक्त संगठनका १३ जना विद्यार्थीलाई सवा ७ बजेको समयमा प्रहरी वृत्त गौशाला पुर्याइएको छ । त्यसअघि आजै अपरान्ह पौने ५ बजेको समयमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारी केन्द्रीय सदस्य मिलन राईलगायत चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि सोही संगठनको अर्को समूहलाई प्रहरीले पक्रेको हो । उक्त संगठनका उपाध्यक्ष वीरेन्द्र साहसहित दुई जनालाई ५ बजेको समयमा नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशाला पुर्याइएको थियो ।

त्यसपछि वैद्य समूह निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलसहित तीन जना पनि पक्राउ परेका थिए । उनीहरुलाई पनि प्रहरी वृत्त गौशाला लगिएको थियो ।

प्रधानमन्त्रीको विरोध गर्न सिनामंगल पुगेका सामाजिक अभियन्ता उद्धव बस्नेतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

टिप्पणीहरू