मुम्बईबाट कार्यकर्तालाई रवि लामिछानेको निर्देशन ‘विद्रोहको तयारी गर्नुहोला, म आइतबार आउँछु’

मुम्बईबाट कार्यकर्तालाई रवि लामिछानेको निर्देशन ‘विद्रोहको तयारी गर्नुहोला, म आइतबार आउँछु’

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिलाई जागिरका रुपमा नभई विद्रोहका रुपमा बुझेर सोहीअनुसार अघि बढ्न आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । 

नीजि भ्रमणको सिलसिलामा भारतको मुम्बई पुगेका उनले त्यहिँबाट फेसबुकमा लेखेर मुलुकको हितलाई सर्वोपरी ठानी काम गर्न पार्टी पंक्तिलाई निर्देश गरेका हुन् । राष्ट्रपतिले हिजो प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि रास्वपाको टिप्पणीलाई लिएर कतिपयले आलोचना गरिरहेका बेला लामिछानेले जनताको आवाज बाहेक अरु केही नसुन्न पनि कार्यकर्तालाई भनेका छन् ।   

उनी भन्छन्, ‘प्रिय रास्वपा परिवारका साथीहरू, म पूर्वनिर्धारित, पुर्णतः गैरराजनीतिक र नितान्त निजी कामले मुम्बईमा छु । नेपाली जनताले ठूलो आशा भरोसा बोकेर हामीलाई संसदमा पठाएका हुन् । यो हाम्रो जागिर होइन, बिद्रोह हो । हामीले जनताको बाहेक कसैको आवाज सुन्नु पर्दैन । मुलुकको हितबाहेक हामीले कसैको हितलाई ध्यान दिनु पर्दैन ।’

लामिछानेले तीन वटा कुरा नबिर्सिन पनि आग्रह गरेका छन् । नेता–कार्यकर्तालाई सम्झाउँदै उनले लेखेका छन्, ’३ वटा  कुरा नबिर्सौं । हामी किन राजनीतिमा आयौं, हामीलाई नेपाली जनताले किन भोट दिए र ८४ सालमा जनता हामीलाई कहाँ हेर्न चाहन्छन् ।’ उनले शान्त विद्रोहका चरणबद्ध कार्यक्रमहरु शुरु गर्न निर्देश गर्दै आइतबारपछि आफू पनि जोडिने बताए ।

प्रमाणीकरण भइसकेको नागरिकता विधेयकको विपक्षमा मत जाहेर गर्दै उनले अगाडि लेखेका छन्, ‘योग्य हुँदा हुँदैपनि अनागरिक हुन वाध्य पारिएका कयौं पीडित नेपालीहरुले आफ्नो नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ भन्ने कुरामा हाम्रो कहिल्यै, कहिँ बिमती थिएन, छैन । र हामी नेपाली महिलाहरुलाई ‘पतिको पहिचान नखुलेको’ लेख्नुपर्ने अपमानजनक प्रावधानको विपक्षमा छौं ।’

उनले आफ्नो पार्टीले यस सम्बन्धमा निकालेको विज्ञप्ति पढ्न पनि घण्टीका समर्थक, शुभेच्छुकहरुलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू