सदस्यता शुद्धीकरण अभियानलाई प्रभावकारी बनाउन पत्रकार महासंघको प्रदेश र जिल्लालाई निर्देशन

सदस्यता शुद्धीकरण अभियानलाई प्रभावकारी बनाउन पत्रकार महासंघको प्रदेश र जिल्लालाई निर्देशन

नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने भएको छ । सदस्यता नवीकरणका लागि तोकिएको म्याद नजिकिंदै जाँदा महासंघले शुद्धीकरण अभियानलाई अझै प्रभावकारी तुल्याउने निर्णय गरेको हो । 

यसका निम्ति आवश्यकताअनुसार टिम परिचालन गरि काम अघि बढाउन महासंघले प्रदेश समिति  र जिल्ला शाखालाई निर्देशन दिएको छ । आज बसेको केन्द्रीय बैठकले सदस्यता शुद्धीकरणकरणसहित अन्य चार वटा निर्णय पनि गरेको छ । 

विभिन्न सञ्चार प्रतिष्ठानले सामूहिक वा एकल रुपमा पत्रकारलाई मिडिया छाड्न दबाब दिइरहेको गुनासो आएको उल्लेख गर्दै महासंघले त्यसविरुद्ध संघर्षको कार्यक्रम ल्याउने निर्णय गरेको छ । त्यस्तै, श्रमजीवी पत्रकारको सवालमा मिडिया हाउस, सरकार र सरोकारवाला निकायलाई ‘श्रमजीवी पत्रकार ऐन’ कार्यान्वयन गर्न ध्यानाकर्षण पनि गराइएको छ ।

सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि संसद्मा प्रस्तुत गरेको बजेटले मिडिया क्षेत्रलाई निराश बनाएको महासंघको गुनासो छ । 

आजको बैठकले लोककल्याणकारी विज्ञापनको वृद्धि गर्न र समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न सरोकारवाला निकायलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । साथै, महासंघले चालु संघीय संसद्को अधिवेशनबाटै सञ्चारसम्बन्धी कानुन टुंगो लगाउन सरकारसंग माग गरेको छ ।

टिप्पणीहरू