भारतलाई नक्सा सच्याउन चेतावनी दिँदै विद्यार्थीहरु आन्दोलित

भारतलाई नक्सा सच्याउन चेतावनी दिँदै विद्यार्थीहरु आन्दोलित

भारतीय संसद भवनको भित्तामा राखिएको 'अखण्ड' भारतको नक्सामा नेपाली भूभाग सामेल गरिएकोप्रति विद्यार्थीहरु आन्दोलित भएका छन् ।   

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले उक्त नक्सा हटाउन कूटनीतिक तवरबाट तत्काल पहल थाल्न सरकारसँग माग गरेको छ । आज विज्ञप्ति जारी गर्दै क्रान्तिकारीका संयोजक पवन कार्कीले 'अखण्ड' भारत नक्साको सरकारले खण्डन गर्नुपर्ने तथा नक्सा हटाउन भरतसँग पहल गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले नेपालको भूभाग नियोजित ढंगले आफ्नो देशको नक्सामा राख्ने भारतीय विस्तारवादको रबैया खेदजनक रहेको उल्लेख गर्दै नेपाली जनतालाई कुनै पनि हालतमा यो सह्य नहुने चेतावनीसमेत दिए । 

‘कहिले सुरस्ता त कहिले कालोपानी, लिपुलेक, लिम्पियाधुराको सीममा बल मिच्याई गर्दै नेपालको राष्ट्रिय अखण्डता विपरीत कार्य गरिरहेको भारत सरकारले पछिल्लो पटक मे २८ तारिकमा आफ्नो नयाँ संसद भवनको उद्धाटन गर्ने क्रममा उक्त संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी समेत राखेर नक्सा सार्वजनिक गर्नु घोर आपत्तिजनक विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो देशको भूभाग नियोजित ढंगले आफ्नो देशको नक्सामा भारतीय विस्तारवादको यो रबैया खेदजनक छ, नेपाली जनतालाई कुनै पनि हालतमा यो सह्य हुन सक्दैन ।’

यस्तो प्रकारको मिथ्या भ्रम बोकेको नक्सा आफ्नो संसद भवनमा राखेर दुनियाँलाई भ्रमित नगर्न भारत सरकारलाई चेतावनी दिदैं क्रान्तिकारीले नेपाल र नेपालीको स्वाभिमानमाथिको भारतीय हस्तक्षेप नेपाली जनतालाई कदापि स्वीकार्य नहुने पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, संयुक्त विद्यार्थी संगठनले 'अखण्ड' भारतको नक्साको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ति उद्धघाटन गरेको नयाँ संसद भवनको भित्तामा अंकित नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएपछि नेपालमा ब्यापक विरोध भैरहेको छ ।

टिप्पणीहरू