ललितपुर महानगरको ‘सभ्य नागरिक’ वृत्तचित्र विमोचित, परिकल्पनाकार सम्मानित

ललितपुर महानगरको ‘सभ्य नागरिक’ वृत्तचित्र विमोचित, परिकल्पनाकार सम्मानित

ललितपुर महानगरपालिकाले ‘सभ्य नागरिक’ नामक वृत्तचित्र विमोचन गरेको छ ।  

आज बिहान पुल्चोकस्थित लबिम मलमा आयोजित एक कार्यक्रमका बीच ललितपुरका मेयर चिरिबाबू महर्जनले वृत्तचित्र विमोचन गरेका हुन् । त्यसअघि महर्जन र गोदावरीका मेयर गर्जेन्द्र महर्जनले संयुक्त रुपमा विद्युतीय मैनबत्ती बालेर कार्यक्रमको उद्धघाटन गरेका थिए ।  

कार्यक्रममा ‘सभ्य समाज निर्माणका लागि सभ्य नागरिक’ भन्ने जनचेतनामूलक भिडियो देखाइएको थियो । महानगरीय प्रहरी प्रमुख सिताराम हाछेथुले परिकल्पना र नगर प्रहरीले निर्माण गरेको भिडियोको उद्धेश्य सभ्य समाजका निम्ति जनस्तरलाई जागरुक गराउनु रहेको जानकारी गराएको थियो । 

सार्वजनिकस्थलमा धुम्रपान गर्न नहुने र धुम्रपानले आफ्नो र अरुको स्वास्थ्यमा पर्ने असरबारे जनचेतना जगाउने उक्त भिडियोमा बोटविरुवाको संरक्षण गर्नुपर्ने, बाटो काट्नलाई जेब्राक्रसको प्रयोग गर्नुपर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका मठमन्दिर, चौतारी, पोखरी, पार्टीपौवाहरुको संरक्षण गर्नुपर्नेलगायतका विषय समेटिएको छ । 

पोस्टर, प्याम्लेट टाँसेर शहरलाई कुरुप नबनाउन र नक्सा पास गरेर मात्र घर निर्माण गर्न पनि भिडियोमार्फत आग्रह गरिएको छ ।  नक्सा पास नगर्दा टेलिफोन, बत्ती, पानीलगायतका सेवासुविधासंगै घर किनबेच नहुने कुरालाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

त्यसैगरी, महानगरपालिकाले व्यवसाय दर्ता गर्नु र नियमित कर तिर्नु नगरबासीको कर्तव्य भएको स्मरण गराएको छ । सोही क्रममा महानगरपालिकाले आगलागीबाट बच्ने उपाय पनि सिकाएको थियो । ११३१ मा कल गरेर निःशुल्क एम्बुलेन्स, शववाहन र दमकल सेवा लिन सक्ने पनि जानकारी गराइएको थियो ।  

 

मेयर महर्जनले कार्यक्रममा बोल्दै सबैको साथ र सहयोग पाएमात्रै महानगरको विकास सम्भव हुने बताए । उनले महानगरपालिकालाई हरियाली र वातावरणमैत्री बनाउनका निम्ति सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । महानगरको एक्लो प्रयासमा शहरलाई सफा पार्न नसक्ने उनको भनाइ छ । 

‘ललितपुर महानगरभित्र फोहोर व्यवस्थापन गरी सफासुग्घर राख्नु, फोहोर व्यवस्थापन गर्नु, पोखरी र पुरातात्विक सम्पदाको संरक्षण गर्नु आदि मात्र विकास होइन् । सबै नागरिकबिना हाम्रो महानगरको विकास सम्भव नै छैन्’, उनले भने,‘महानगरबासी नै विकासको मूल आधार हुन् । हामी समृद्ध, सांस्कृतिक ललितपुर महानगर बनाउने अभियानमा छौं । सबैको समर्थन, सुझाव र सहयोगबिना हाम्रो अभियान अधुरो नै रहन्छ ।’

जनप्रतिनिधिले मात्र ललितपुरको विकास गर्न अकल्पनीय रहेको उनको जिकिर छ । त्यस्तै, उनले ‘काम सताएर मात्र नभई सम्झाएर पनि हुन्छ’ भन्ने अवधारणासहित अघि बढ्न सम्पूर्ण जनप्रतिनिधि, महानगरपालिकाका कर्मचारी र महानगर प्रहरीलाई आग्रह गरेका छन् । 

उनका अनुसार महानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि थुप्रै काम भइरहेका छन् । सार्वजनिक शौचालय निर्माण, स्मार्ट लाइट जडानलगायतका कामहरु भइरहेको जनाइएको छ । 

सो क्रममा नगरप्रमुख महर्जनले महानगर प्रहरी प्रमुख हाछेथुलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए । आज भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका पदाधिकारी, प्रधानाध्यापक, कलाकार, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू