यो वर्ष लेखापालले भोटो देखाउने

यो वर्ष लेखापालले भोटो देखाउने

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै छ । वैशाख शुक्ल प्रतिपदाको दिनबाट शुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रुपमा सम्पन्न हुने गर्दछ ।

सो अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । बिहान बुंगमतीबाट ल्याइएको भोटो देखाइसकेपछि साँझ उतै पुर्याइन्छ । मल्लकालमा कर्कट नागकी श्रीमतीको उपचार गरेबापत एक किसानले पाएको बहुमूल्य गहना र हिराजडित भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाइने किंवदन्ती छ ।

गुठी संस्थान,ललितपुरले भोटो जात्राको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । कार्यालय प्रमुख नथुना शर्माले आज अपरान्ह साँढे ४ बजे भोटो देखाउने बताइन् । जिल्ला प्रशासन कार्यालय,ललितपुरले सुरक्षाको जिम्मा लिएको छ । राष्ट्रपति सवारी भइसकेपछि भोटो देखाइन्छ । "भोटो ल्याउन हामीले पत्राचार गरिसकेका छौं । खानेपानीलगायत अन्य आवश्यक वस्तुको पनि व्यवस्थापन गरिएको छ’,उनले भनिन् । 

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाउने कार्यक्रम छ । राष्ट्रपति पौडेल पहिलोपटक राष्ट्र प्रमुखका रुपमा जात्रामा सहभागी हुन लाग्नुभएको हो । यसअघि गुठी संस्थान ललितपुरका प्रमुखले मच्छिन्द्रनाथको भोटो देखाउने चलन भए पनि यसपटक लेखापाल पवन आचार्यले भोटो देखाउने छन् । रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर पाटनको टोल टोलमा पुर्याइसकिएको छ । 

करिब एक हजार ६०० वर्षको इतिहास बोकेको रातो मच्छिन्द्रनाथको रथयात्रा हेर्न उपत्यकासहित अन्य जिल्लाका भक्तजनहरुको ओइरो लाग्ने गर्दछ ।

टिप्पणीहरू