कुरै नबुझी माननीय बोलेपछि...

कुरै नबुझी माननीय बोलेपछि...

पाठ्यक्रम विकास केन्द्रले कक्षा १० को कोर्श बुकबाट वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतको जीवनी हटाएपछि चौतर्फी आलोचना भएको छ । प्रतिनिधि सभाको बैठकदेखि विद्यार्थी संघ संगठनको समेत ध्यान खिचेको उक्त विषयतिर अधिकांशले चासो बढाएका छन् ।

प्रतिनिधि सभाको हिजोको बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले कक्षा १० को अनिवार्य नेपाली पुस्तकबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाए । उनले रुइतको जीवनीका कारण मुलुकको इज्जत बढेको र उक्त जीवनी पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको उल्लेख गरेका थिए । कक्षा १० को पाठ्यक्रमबाट रुइतको जीवनी हटाइएकोमा शिक्षा मन्त्रीसँग पन्तले जवाफ मागेका हुन् । 

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पनि केही दिनअघि सोही विषयमा पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएका थिए ।  अघिल्लो वर्षसम्म कक्षा १० को अनिवार्य नेपालीको पाठ ३ मा ‘सन्दुक रुइत’ शीर्षकको जीवनी थियो । तर, यो वर्षदेखि उक्त जीवनी हटाइएको छ । 

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगाना रुइतको जीवनी कक्षा १० को नेपाली पुस्तकबाट हटाइए पनि कक्षा ७ र ८ को पाठ्यक्रममा समावेश गरिएको बताउँछन् । चालु शैक्षिक सत्रबाट कक्षा ४ को अनिवार्य नेपाली, कक्षा ७ को अनिवार्य अंग्रेजी, कक्षा ८ को अनिवार्य नेपाली र कक्षा १० को सामाजिक र विज्ञान तथा प्रविधि विषयको पाठ्यपुस्तकमा डा. सन्दुक रुइतको जीवनी राखिएको ढुंगानाले स्पष्ट पारे ।

‘यस शैक्षिक सत्रबाट रुइतबारे सामाजिक र विज्ञान तथा प्रविधि विषयमा पनि समावेश गरिएको छ,’ उनले भने, ‘गत शैक्षिक सत्रसम्म कक्षा १० को अनिवार्य नेपाली पुस्तकमा मात्र उनको जीवनी राखिएको थियो ।’

पहिले कक्षा १० को अनिवार्य नेपाली विषयमा मात्र रुइतबारे पढाइएकोमा अहिले ४ कक्षाका विभिन्न विषयमा त्यसबारे उल्लेख भएको सूचना अधिकारी बाबुरामको दाबी छ । उनले थपे, ‘रुइतको सम्मान गर्दै हालै उनले प्राप्त गरेका विश्वप्रसिद्ध ईशा अवार्ड समेतलाई समेटेर कक्षा ७ र कक्षा ८ को पाठ्यपुस्तकमा समावेश गरेका छौं ।’ कक्षा १० को नेपाली विषयबाट रुइतको जीवनी हटाइएकोमा सत्यतथ्य नबुझी आलोचना भइरहेकोमा उनले दुःख व्यक्त गरेका छन् । यथार्थ नबुझी संसद र सामाजिक सञ्जालमा आलोचना गर्नाले गलत मेसेज गएको पाठ्यक्रम विकास केन्द्रको भनाइ छ ।

चालु शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम जारी भएको र नयाँ पाठ्यपुस्तकको अध्ययन नगरी आफुखुशी बोलिएको ढुंगानाको बुझाइ छ । उनी भन्छन्, ‘सचेतनाको कमीले यो सबै भएको छ ।’ महत्वपूर्ण विषय र व्यक्तित्वको बारेमा गरिएको अनावश्यक आलोचनाका कारण डा.सन्दुक रुइतकै सम्मान, प्रतिष्ठा र व्यक्तित्वमा समेत असर पुगेकोमा केन्द्रले दुःख व्यक्त गरेको हो ।

टिप्पणीहरू