नि:शुल्क उपचार नगर्ने अस्पताललाई बालेनले कारबाही गर्ने

नि:शुल्क उपचार नगर्ने अस्पताललाई बालेनले कारबाही गर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याएर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

लक्षित बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याउन महानगर क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (४) ख २ बमोजिम स्वास्थ्य संस्थाको नियमक स्थानीय तह रहेको उल्लेख गर्दै बालेनले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको स्मरण गराएका छन् ।

त्यस्तै, उनले लक्षित बिरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गर्न पनि भनेका छन् । सो विवरण प्रत्येक महिनाको १० गतेभित्र महानगरमा पठाउनुपर्ने जनाइएको छ । तोकिएको समयमा विवरण नपठाउनेलाई कारबाही गर्ने उनको चेतावनी छ । 

साथै, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई प्रचलित कानुनले तोकेबमोजिम पारिश्रमिक उपलब्ध गराउन, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्न, अनावश्यक प्रयोगशाला परीक्षणका लागि सिफारिस नगर्न भनिएको छ ।
 

टिप्पणीहरू