पुलमुनि अनसनरत सांसदको स्वास्थ्य खराब

पुलमुनि अनसनरत सांसदको स्वास्थ्य खराब

राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनसनमा बसेका सांसद सञ्जयकुमार गौतमको जीवन रक्षाको माग गरेको छ । ‘हाम्रो बर्दिया बचाऔंः समुन्नत बर्दिया बनाऔं’ भन्ने अभियानअन्तर्गत १५ बुँदे माग राखेर सात दिनदेखि अनसनरत बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदको जीवन रक्षाको माग गरिएको छ । 

अनसनरत उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको उल्लेख गर्दै आयोगले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न भनेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै उनले उठाएका उचित मागहरु सम्बोधन गरी विकासको सुनिश्चिचता गर्न र अनसनरत गौतमको स्वास्थ्यप्रति संवेदनशील बन्न आग्रह गरेको छ । 

आयोगको लुम्बिनी प्रदेशको शाखा कार्यालय, नेपालगञ्जले आज अनसनको स्थलगत अनुगमन गरेको थियो । उच्च रक्तचापका बिरामी भएकाले उनको ज्यान नै जोखिममा पर्नेसक्ने अवस्था देखिएको आयोगको ठहर छ । 

‘गौतमको शरीरमा पानीको मात्रा कम भई पिसाबमा समस्या देखिएको, उच्च रक्तचापको बिरामी भएको हुँदा जुनसुकै समयमा गम्भीर समस्या निम्तिन सक्ने अवस्था रहेको, अनशनको सातौं दिनसम्म पनि सरकारी निकायबाट अनशन तोड्न पहल नभएको र अनशनस्थल सडक एवम् स्वास्थ्य सुविधाबाट टाढा रहेकाले आकस्मिक समस्या सिर्जना भइहालेमा जीवन नै जोखिममा पर्ने अवस्था रहेको जानकारी प्राप्त भएको छ’, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, आयोगले विकास र समृद्धिसँग मानव अधिकारको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै विकास प्रक्रियामा देखापरेका समस्याको समाधान गरिनु सरकारका निकायको कर्तव्य भएको पनि स्मरण गराएको छ ।

टिप्पणीहरू