नक्कली शरणार्थी प्रकरणबारे सिंहदरबारमा समाजवादीको ‘डेलिगेसन’

नक्कली शरणार्थी प्रकरणबारे सिंहदरबारमा समाजवादीको ‘डेलिगेसन’

नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान प्रक्रियालाई कमजोर नबनाउन माग गरेको छ । 

विगतका धेरै भ्रष्टाचार काण्डहरु सामसुम पारिएको भन्दै आज सो पार्टीको मोर्चा संगठन प्रमुख विजय पौडेलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउने काम नगर्न आग्रह गरेका हुन् । 

भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भएपनि कारबाही गर्नुपर्ने माग राख्दै उनले मुद्दालाई कमजोर बनाई सामान्य कसूरको रुपमा परिणत गरी ढाकछोप गर्ने षड्यन्त्र नगर्न गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराए । 

‘नक्कली भुटानी शरणाथी काण्डसम्बन्धी अपराधको सम्पूर्ण सञ्जाललाई कानूनको घेराभित्र ल्याई कडाभन्दा कडा सजाय दिन हामी सरकारसमक्ष जोडदार माग गर्दछौँ,’ समाजवादीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भएपनि कारबाहीमा पर्छन् भन्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने छ ।’

यस काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारीलगायतका व्याक्रिहरुको भ्रष्ट क्रियाकलापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षड्यन्त्र गर्ने काम गरिरहेको पनि नेकपा एसको आरोप छ ।

टिप्पणीहरू