भन्सारका कलेज टपर सुब्बाले करोडौंको सुन उछिट्याएपछि..

भन्सारका कलेज टपर सुब्बाले करोडौंको सुन उछिट्याएपछि..

दश महिनाअघि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित अख्तियारद्वारा रंगेहात समातिएका थिए । गोल्ड मेडलिष्ट भएकै कारण छात्रवृत्तिमा बेलायत पढ्न गएका उनी नेपाल फर्केर पर्यटन मन्त्रालयमा जागिर शुरु गर्दैगर्दा घुससहित समातिएको त्यो पुरानो घटनालाई सम्झाउने गरी फेरि अर्का 'कलेज टपर' सुब्बा सुन काण्डमा मुछिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत सुब्बा रेवन्त खड्कालाई भन्सारले जफत गरेको सामान साटफेर गरी सुन निकालेको अभियोगमा प्रहरीले समातेर छानविन गरिरहेको छ । भर्खर २७ वर्ष पुगेका सुर्खेतका खड्का पढाईमा अब्बल थिए । त्यस्तै अबब्लता देखाएर उनले सुन तस्करसंगको मिलेमतोमा भन्सारको गोदामबाट 'म्याजिकल शैली' मा सुन फुत्काएपछि हाकिमहरु तीन छक परेका छन् । 

१९ वर्षकै उमेरमा सुब्बामा नाम निकालेका खड्का एक वर्षदेखि गौचरस्थित भन्सार कार्यालयमा कार्यरत थिए । भएको के रहेछ भने, गत माघमा चीनबाट आएको ७३० बाक्सा इलेक्ट्रिक चुरोट गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । पटक-पटक स्क्यान गरेर बाक्सामा चुरोटबाहेक अरु कुनै बहुमूल्य वस्तु नभएको ठहरिएपछि भन्सारका कर्मचारीले त्यसलाई विमानस्थलको गोदाममा थन्क्याईदिए । सामान्यत: जफत गरेका सामानहरु एककट्ठा गरी एक-दुई- महिनामा लिलामीका लागि पठाउने अभ्यास छ । त्यसकारण उक्त सामान पनि करिब ५० दिनदेखि गोदाममै थियो । 

पछि लिलामी प्रक्रिया शुरु भयो । तर, 'इ-सिगरेट' भएकाले लिलाम गर्ने कि 'डिस्पोज' भन्नेबारे छलफल हुँदै गर्दा त्यसको भ्यालुयसन गरी भन्सारले पुन: गोदाममै थन्काएर राखिदियो । त्यसबीचमा भन्सार कार्यालयका हाकिमलाई भेटेर केही व्यक्तिले सामानबारे सोधखोज गरिरहेका थिए । चिनियाँ दूतावासको कर्मचारी भनेर घुमाउरो दबाब पनि दिइएको थियो । बूढीगण्डकी परियोजनाका चिनियाँ मजदुरको लागि ल्याएको चुरोट भन्दै छुटाउन आएको टोली सफल भएन । 

तर, उनीहरु पटक-पटक धाउन थालेपछि भन्सार कार्यालयका कर्मचारीले बाक्सामा अरु कुनै मालवस्तु लुकाइएको हुनसक्ने आशंका गरे । त्यसपछि पुन: एक्सरे गरियो । तर,फेरि पनि बहुमूल्य वस्तु केही देखिएन । तथापि सामानको अवस्थाबारे बुझ्न ती मान्छे भने आइरहेकै थिए । त्यसले झन् शंकास्पद मानेको भन्सार कार्यालयले आन्तरिक कमिटी बनाएर छानविन थाल्यो । छानविनका क्रममा उनै युवा कलेज टपर सुब्बा खड्काले बाक्सा साटेर त्यहाँभित्रको चुरोट (जसमा सुन लुकाइएको थियो) निकाली दलाल दिनेश बस्नेतसँग मिलेर न्यूरोडमा बेचेको तथ्य बैशाख २६ गते खुलासा भयो । 

'बाहिरको दलालसँग मिलेर बाक्सा साटेको प्रमाणित भयो । हामीले यसबारे थप अनुसन्धानका लागि सिआइबीलाई जिम्मा लगाइसकेका छौँ',भन्सार कार्यालयका एक जना अधिकृतले जनआस्थासँग भने । उनका अनुसार सिआइबीले अहिले आफ्नो अनुसन्धान गरिरहेको छ । 

चैतको पहिलो साता बाक्सा साटेका सुब्बा खड्काले निकै जोगिएर काम गर्ने प्रयास गरेको देखिन्छ । सामान बुझेको हस्ताक्षर अर्कै कर्मचारीको भएकाले आफू नफस्ने बुझेका उनले गोदामको साँचो लिएर पहिला सामानको निरीक्षण गरे । बाक्सामा सुन भएको यकिन भएपछि सिसिटिभी फुटेजको कभरेज नभएको ठाउँमा बाक्सा लगे । 'सिसिटिभी फुटेज हेर्दा बाक्सा राखेको ठाउँबाट निकालेर अर्को ठाउँमा लगेर राखेको देखिन्छ । साटफेर गरेको स्थान सिसिटिभीमा भेटिंदैन',उनले भने । 

जतिसुकै बठ्याई गरेपनि उनको एउटा कमजोरीले कर्तुत बाहिर ल्याउन छानविन कमिटीलाई सहयोग गर्यो । बाक्साभित्रको चुरोट साट्दा उनले अर्कै कम्पनीको राखिदिएपछि आशंका भएको र छानविनमा उनले नै त्यो काम गरेको पोल खुलेको हो । खड्का आफैँले बदमासी स्वीकारिसकेका छन् । 

करिब तीन करोडको सुन उछिट्याएर जम्मा ५० लाख मात्र हात परेको भन्दै सुब्बाको अहिले अर्को बेचैनी छ । न्यूरोडमा बेचेको सुनको ८० प्रतिशत रकम दलाल बस्नेतले खाइदिएको गुनासो गर्दै आन्तरिक छानविनका बेला उनले भनेका थिए, 'लोभमा परेर फसें,मेरो नियत नराम्रो थिएन ।' 

खड्कासहित यसमा संलग्न रहेको आशंकामा तीन जनालाई समातेर अनुसन्धान गरिरहेको सिआइबीले प्रारम्भिक अनुसन्धान सकेर छिट्टै यसबारे थप कुरा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।

टिप्पणीहरू