टोपबहादुर त्यतैबाट टाप कसेपछि

टोपबहादुर त्यतैबाट टाप कसेपछि

एकातिर बुटवल प्रहरी खुट्टा फाडेर तिनाऊ आसपास तैनाथ थियो, अर्कातिर कपिलवस्तु र भैरहवा छिर्ने नाकाका प्रहरीलाई पनि हाइअलर्टमा राखियो । अन्तिममा समात्नुपर्ने मान्छे यसरी भागे, जति खोज्दा पनि भेटिएनन् । 

भूटानी शरणार्थीको नक्कली प्रमाणपत्र बनाएर अमेरिका पठाउने गिरोहमा पोलिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई समात्न प्रहरीले यत्रो दुःख गरेको हो । गत बुधवार साँझ ८ बजे टोपबहादुरका छोरा सन्दीपलाई इलाका प्रहरी कार्यालय, बुटवलको टोलीले बजारबाटै समातिसकेको थियो । यसपछि अर्घाखाँचीबाट फर्किरहेका बाबुलाई समाउने योजना बन्यो । त्यही दिन प्रहरी महानिरीक्षक (आइजी) बसन्त कुँवर गुल्मीबाट फर्किएर बुटवल पुगेका थिए । टोपबहादुर पनि त्यतै छिरे । लगत्तै महानिरीक्षक कुँवरसँग कुराकानी गरे । यता काठमाडौंबाट जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्की जिप्रका भैरहवाका एसपी भरत बिक, इप्रका बुटवलका डिएसपी दानबहादुर थापाहरूको नियमित सम्पर्कमा थिए ।

टोपबहादुर भागेर कपिलवस्तु नाका हुँदै सीधै भैरहवा जालान् कि भनेर इप्रका गोरुसिंगेका इन्स्पेक्टर नरेश शाहीलाई पनि हाइअलर्टमा राखियो । तर, पत्थरकोटका असईले सूचना दिए, टोपबहादुर राजमार्गबाट लुम्बिनी छिर्ने बाटो नलागी देब्रे मोडिएर बुटवलतिर गएको । पत्थरकोटबाट पूर्वपश्चिम राजमार्ग निस्किएर बुटवल पुग्ने क्रममा विभिन्न तीनवटा प्रहरी युनिट छन् । सबै सजगताका साथ सडक–सडकमा तैनाथ थिए । काठमाडौंबाट भनिएको थियो, ‘बुटवलमा टेक्नासाथ समातेर प्लेन चढाई काठमाडौं पठाउने †’ तर, समस्या के भयो भने, बुटवल पुग्नासाथ उनी आइजी कुँवरसँग वात मार्न पुगे । सोही संवादपछि कुँवरले काठमाडौंमा दानबहादुरलाई फोन गरेर भने, ‘यत्तिको मान्छेले म आफैं काठमाडौं जान्छु, अनुसन्धानमा सघाउँछु, बेकारमा मलाई किन प्लेन चढ्दा पक्राउ गरेर लगेजस्तो देखाउनुहुन्छ भनेपछि पत्याउनुपर्ला नि !’ आइजीको निर्देशनलाई दानबहादुरले ‘नाइँ’ भन्न सकेनन् ।

आइजीले भनेका थिए, ‘पोलिटिकल मान्छे हो, अरुले जस्तो झुक्याउने, ढाँट्ने काम त नगर्लान् नि †’ यसपछि उनी बुटवलमै समातिनबाट रोकिए । तर, भैरहवा पुगेनन् । त्यहाँस्थित जिप्रकादेखि विमानस्थलमा तैनाथ प्रहरीको टोलीसमेत राति ९ बजे उड्ने गरी उनले लिएको टिकटका आधारमा पर्खिरह्यो । तर, उनले ९ बज्नुअघि नै टिकट रद्ध गरेको सूचना सम्बन्धित एयरलाइन्सले दियो र फोन अफ भयो । प्रहरी लोकेशन ट्रयाक गर्दै थियो । खासमा उनी भैरहवातिरै लागेनन् । त्यहीँबाट पूर्वतिर बढे । आफ्नो गाडी र सहयोगीलाई चाहिँ भैरहवा पठाए । प्रहरीले उनको लोकेशन अध्ययन गर्दा नवलपरासीका विभिन्न ठाउँ हुँदै चितवन र त्यहाँबाट उत्तरतिर लागेको देख्यो ।

दासढुंगासम्म पुगेको देखिन्छ, त्यहाँबाट अगाडिको लोकेशन आएन । यदि, उनी काठमाडौं आएको भए विभिन्न नाकाले सूचना पाउँथ्यो । तर, धेरै टाढामा मुग्लिङसम्म पुगेको प्रहरीले अनुमान लगाएको छ । र, त्यहाँबाट पोखरातिर मोडिएको अनुमानका आधारमा त्यहाँका सम्भावित ठाउँमा खोजतलास हुँदा मान्छे भेटिएनन् । धेरैले अनुमान गरेजस्तो उनी भारततिर भागेको कुरालाई उनको अफ गरिएको मोबाइलको लोकेशनले पुष्टि गर्दैन । टोपबहादुरले कुनै ‘खुन–डाँका’ गरेका हैनन् । राजनीतिक संस्कारमा भिजेका र रसिक स्वभावका मानिस एउटा विवादास्पद प्रकरणमा मुछिएका व्यक्तिहरूले दिएको बयान र त्यसलाई पुष्टि गर्ने आर्थिक कारोबार भएको प्रमाण पनि फेला परेका कारण अनुसन्धानको दायरासम्म परेका हुन् ।

पूर्वगृहसचिव तथा राष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे आफैँ उपस्थित भई अहिले सिंहदरबारस्थित प्रहरी बृत्तको हिरासतमा बसेका छन् । टोपबहादुरले पनि गिरफ्तारी दिएको भए प्रहरीले सम्मानपूर्वक नै राख्थ्यो होला । तर, उनी यसरी भागे कि, बेलामा प्रहरीले पत्याएन, पछि दुःख पायो । पोखरा गएको अनुमानका आधारमा उनको मात्र हैन, त्यहाँस्थित उनी निकटस्थका मोबाइलको पनि लोकेशन ट्रेस गर्ने प्रयास जारी छ । अहिले पनि प्रहरी उनको खोजीमै छ ।

 

टिप्पणीहरू