होला त कारबाही साउदलाई ?

होला त कारबाही साउदलाई ?

सुदूरपश्चिममा विकासको कुनै काम अलपत्र छ भने त्यो भीमबहादुर साउदको हो भनेर बुझ्दा फरक नपर्ने भएको छ । भीमबहादुर साउद ठेकेदार मात्र होइनन्, पर्शुराम नगरपालिकाका पूर्वमेयर र हाल पनि नेपाली कांग्रेस डडेल्धुराका सभापति हुन् । 

उनको केन्द्रीय सभापति शेरबहादुर देउवा र पत्नी आरजूसँग निकै नजिकको सम्बन्ध छ । यो बीचमा भने देउवा दम्पतीका भतिज तथा प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले आफूले लिएका योजनाको काम असार मसान्तभित्र पूरा नगरे कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । 

डडेल्धुराका योजनाको अनुगमनमा पुगेका देउवाले जतासुकै साउदले ठेक्का पाएका योजनाको काम पूरा नभएको गुनासो जनताले गरेपछि डडेल्धुराका दर्जनाँै कार्यक्रममा उनको निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने बताएका थिए ।

रोचक त के छ भने मन्त्रीका ती सबै कार्यक्रममा सहभागी हुन ठेकेदार तथा डडेल्धुराका कांग्रेस सभापति साउद काठमाडौँबाट रातारात डडेल्धुरा पुगेका थिए । साउदकै अगाडि मन्त्रीले त्यसो भन्दा उनले कालोमुख लगाएर कुनै प्रतिक्रिया दिन सकेनन् । मन्त्री आफँैले उनीसहितको अनुगमनको तस्बिर फेसबुक पेजमा भने हालेका छन् । मन्त्री देउवाले भने, ‘साउदजी, अब मेरा ठूलाबुवा र ठूलो मम्मी (शेरबहादुर र आरजू) को सोर्स लगाएर बच्ने प्रयास नगर्नुहोला, मैले उहाँहरूलाई पनि काम गर्न दिनुपर्छ भनेको छु ।’ 

केही वर्षअघि सुदूरपश्चिममा सञ्चालित संघ, प्रदेश र स्थानीय तहका ७५ प्रतिशत योजना होल्ड गर्ने गरेका साउदले त्यतिबेला पाइने अग्रिम रकम २० प्रतिशतबाट काठमाडौँलगायत देशभरका विभिन्न ठाउँमा घडेरी, गाडी, खेतीका लागि बिघाका बिघा जग्गालगायत विलासी वस्तु किन्ने गरेको बताइन्छ । 

रकमजति जग्गालगायत कारोबारमा हालेकाले हातमा नगद नभएकोले चुनाव खर्च व्यहोर्न नसक्ने भनेरै उनलाई डडेल्धुराको प्रदेश सभाको उम्मेदवार नबनाइएको पनि बताइन्छ । देउवा आफैँ प्रधानमन्त्री हुँदा पनि साउदलाई जतासुकै तेरो गुनासो आउँछ, ठेक्कापट्टाको समस्या मिला, नत्र जेल हाल्छु भनेर धम्की दिएको चर्चा पनि छ । तर, प्रधानमन्त्री देउवाले केही गरेनन् । त्यसैले यसपटक पनि मन्त्री प्रकाशले साउदलाई कालोसूचीमा राख्छु भनेर जनतालाई वेबकुफ बनाउन खोजेका त होइनन् भन्ने चर्चा पनि डडेल्धुरामा छ ।

 

टिप्पणीहरू