अमेरिका घुमेपछि पोथी पाण्डालाई चीन फर्काइयो

स्रोत : सिन्ह्वा

पोथी पाण्डा यायालाई आफ्नै मुलुक चीन फर्काइएको छ । संयुक्त राज्य अमेरिकाको मेम्फिस चिडियाखानामा २० वर्षको बसाइँपछि यायालाई स्थानीय समयअनुसार हिजो आफ्नै मुलुक फर्काउन अमेरिकामा आवश्यक तयारी गरिएको छ । 

यायालाई अमेरिकाबाट सांघाईसम्म विमानमा हालेर चीन ल्याइने बताइएको छ । चिडियाखानाकी सहयोगी लरेन कास्कीले यायाले आफूलाई उडानका लागि यसअघि नै पूर्ण रुपमा तयार पारिसकेको जानकारी दिइन् । 

त्यस्तै, चीनको वातावरणमा सहज रुपमा घुलमिल हुन तालिमसमेत दिइसकेको उनको भनाइ छ । ‘याया धेरै रमाइलो गर्ने पाण्डा हो । हामीले उनलाई चीनमा सहज वातावरणमा बस्न सक्ने तालिम दिइसकेका छौं । हामीसँग विभिन्न बिस्कुटहरु छन् जुन उनले चीनमा पनि खान पाउनेछिन् ।’

याया सन् २००३ मा चिडियाखाना र चाइनिज एसोसिएसन अफ जुलोजिकल गार्डनबीचको साझेदारीमा भाले विशाल पाण्डा लेलेसँग अमेरिका गएकी थिइन् । 
चिडियाखानाले सन् २०२२ को अन्त्यमा गार्डनसँगको ‘ठूलो पाण्डा ऋण सम्झौता’ समाप्त गर्ने घोषणा गरेको थियो । भाले लेलेको भने उक्त घोषणाअगावै हृदयाघातका कारण मृत्यु भएको थियो ।

यायाको जन्म सन् २००० मा बेइजिङको चिडियाघरमा भएको थियो । उनलाई अमेरिकामा दुई दशकमा १५ करोड दर्शकले हेरेको जनाइएको छ ।

 

टिप्पणीहरू