बेलायती राजा चार्ल्सको फ्रान्स भ्रमण रद्ध

बेलायती राजा चार्ल्सको फ्रान्स भ्रमण रद्ध

जारी आन्दोलन चर्कंदै गएपछि बेलायती राजा चार्ल्सको फ्रान्स भ्रमण रोकिएको छ । आन्दोलनकारीहरुले राजाको भ्रमणलाई लक्षित गरेर आमहड्ताल घोषणा गरेपछि बेलायती राजदरबारले भ्रमण रद्ध गर्ने निर्णय गरेको बताइन्छ । 

फ्रान्समा कर्मचारीहरुको अवकाश उमेर बढाउने विवादास्पद निर्णयपछि देशभर प्रदर्शन हुँदै आएको छ । सरकारले प्रस्तुत गरेको पेन्सन सुधार योजनाको विरोधमा देशव्यापी प्रदर्शनको क्रममा पछिल्लो पटक आगजनी, तोडफोड र हिंसा भएको छ ।

हिजो आह्वान गरिएको देशव्यापी हडताल र विरोध प्रदर्शनको क्रममा दक्षिण पश्चिमको सहर बोर्डोको टाउन सभागृहमा आगजनी भएको छ । आन्दोलनकारीले आगामी मंगलबार पुनः देशव्यापी हड्ताल घोषणा गरेका छन् ।

फ्रान्स भ्रमणमा रहने बेलायती राजा चाल्र्स तृतीय सोही दिन पेरिसबाट रेलमा बोर्डो सहर पुग्ने कार्यक्रम रहेको थियो ।

सरकारले कर्मचारी र शिक्षकको अवकाश उमेर अहिलेको ६२ वर्षबाट बढाएर ६४ पुर्याउन खोजेको छ । सो सम्बन्धी विधेयक संसद्को तल्लो सदनमा एकाएक  पारित भएको जानकारी गराइएपछि फ्रान्समा हिंसा भड्केको हो ।

टिप्पणीहरू