भरतपुरमा जुत्ता चप्पल मेलाको नानाथरी चर्चा

भरतपुरमा जुत्ता चप्पल मेलाको नानाथरी चर्चा

कृषिप्रधान देश भनेर चिनिएको नेपालमा अहिले खाद्यान्न तथा धेरैजसो कृषिउपज विदेशबाटै आयात गरिन्छ । सियो पनि नेपालमा बन्दैन, बाहिरैबाट ल्याइन्छ भनेर सानैमा सुनेको हो । कतिपय सञ्चालनमा रहेका सरकारी उद्योग पनि कौडीको भाउमा ध्वस्त पारिए । पछिल्लो समय देशमा निजी क्षेत्रको लगानीमा अलिअलि उद्योग–धन्दा खुल्न थालेका छन् । तर तिनको संरक्षण, प्रवद्र्धन र उत्पादनको बजारीकरणमा भइरहेको समस्याले स्वदेशी उद्योगी–व्यवसायीलाई त्यति सहज छैन । 

नेपाली उपभोक्तामा पनि विदेशी सामान प्रयोग गर्नमै गर्व गर्ने बानी विकास भइसकेको छ । विदेशी ब्रान्डेड सामान झैं हाम्रो आफ्नो उत्पादन पनि गुणस्तरीय, टिकाउ, भरपर्दो, विश्वासिलो भएमा मात्र त्यसले ध्यान आकर्षण गर्छ । अहिलेको जमानामा उपभोग्य सामग्रीहरु फेसनेबल र कम्फर्टेबल पनि हुनैपर्यो ।

अहिले चितवनमा जुत्ता चप्पल मेला लागेको छ । स्वदेशी उत्पादन प्रवद्र्धनका लागि भनेर चितवन उद्योग संघ र नेपाली जुत्ता घरको आयोजनामा फागुन १७ गतेदेखि लागेको मेलामा विदेशी ब्राण्डका जुत्ता–चप्पल पनि भेटिएपछि मिडियामै हल्लीखल्ली भएको थियो । हिजो निरीक्षणको क्रममा मेलामा सहभागी एक उद्योगीले भने, ‘विदेशी ब्रान्डका जुत्ता पहिले सबैकोमा अलिअलि थियो, अहिले ती सबै हटाइसकिएको छ ।’ काठमाडौं उपत्यकामा रहेका १० वटा जुत्ता कम्पनी पनि मेलामा सहभागी भएको उनैले जनाए ।

क्रसरोड ब्रान्डका जुत्ता उद्योगी विशाल शर्माले आफ्नै उत्पादनमा विदेशी ब्रान्डको स्टिकर टाँस्न आफूहरु बाध्य भएको गुनासो गरे । उनी भन्छन्, ‘व्यवसायीहरुले नै यसमा नाइक हालिदिनुस्, यसमा एडिडास हालिदिनुस्, मेड इन भियतनाम लेखिदिनुस्, मेड इन कोरिया लेखिदिनुस्, हामी बेच्छौं भन्छन् ।’ 

उद्योग चलाउन आफूहरुले नचाहँदा नचाहँदै पनि विदेशी ब्रान्डको स्टिकर टाँस्नुपरेको विवशता सुनाउँदै उनले भने, ‘हाम्रो आफ्नो उत्पादनमा आफ्नै ब्रान्ड हान्न पाउँदा पो हामीलाई खुशी लाग्छ त !’ नेपालको जतिसुकै ठूलो कम्पनीले पनि कतिपय उत्पादनमा विदेशी ब्रान्डको स्टिकर देखाउने गरेको उनले सुनाए । 

जेहोस्, स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन हेतुद्वारा आयोजित यो मेला राम्रै चलेको विशालको भनाइ छ । यसले स्वदेशी उत्पादनको एकै ठाउँमा प्रदर्शन गर्ने अवसर मिलेको, प्रदर्शनी केन्द्रको पनि उपयोग भएको, उपभोक्ताहरुले स्वदेशी जुत्ता–चप्पल चिन्न र बजारमा भन्दा मेलामा सस्तोमा किन्न पाएको उनको दाबी छ ।

‘स्वदेशी उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ चितवन उद्योग संघको चितवन प्रदर्शनी केन्द्रमा आयोजित प्रथम प्रदेशस्तरीय चितवन जुत्ता चप्पल मेला–२०७९’ मा शु ल्याण्ड कम्फर्ट एण्ड स्टाइलिस, बिएफ डियरहिल शुज, बिएफ स्पोर्ट, भेनस शुज, सिल प्रिमियम क्वालिटी शुज, रन शुज, फस्र्ट वाक, हाइलाइफ शुज एण्ड स्लिपर्स, शिखर शुज, क्रसरोड शुज र केटिएम शुज ब्रान्डका जुत्ता–चप्पलहरुको प्रदर्शनी र बिक्रीवितरण भइरहेको छ । 

एक महिनाका लागि आयोजित मेला आगामी शुक्रबारसम्म हुनेछ । चितवनका दुईवटा उद्योगलाई पनि मेलामा सहभागिताका लागि अनुरोध गरिएको तर सहभागी गराउन नसकिएको आयोजक संस्था नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । यसअघि हेटौंडा, वीरगञ्ज, विराटनगरलगायत शहरमा जुत्ता चप्पल–मेला आयोजना गरिसकिएको जनाउँदै अहिलेसम्म चितवनको मेला उत्कृष्ट देखिएको उनको भनाइ छ । हिजोसम्म साढे तीन करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको उनले बताए । प्रदर्शनी केन्द्रका लागि चितवन उद्योग संघलाई २२ लाखसहित मेला सञ्चालनमा ७० देखि ८० लाख रुपैयाँ खर्च भएको होमनाथ बताउँछन् ।

फुटवेयर मेनुफेक्चर एसोसियसन नेपालका पूर्वअध्यक्षसमेत रहेका उनले पनि नेपालमा साना–साना ब्रान्डले आफ्नै नाममा जुत्ता बेच्न सक्ने अवस्था अझै नरहेको दुखेसो पोखे । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले उपभोक्ताहरुमाझ नेपाली उत्पादनको पहिचान गराउन र नेपाली उत्पादन उपयोग गर्ने बानी बसाउन यो मेला आयोजना गरिएको भन्दै मेलामा ११ वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता–चप्पलको प्रदर्शनी भइरहेको जानकारी दिए । ‘जुन उद्देश्यले यो मेला आयोजना गरिएको थियो, त्यहीअनुसार उपभोक्ताहरुको माया देखिएको छ, स्टल राख्नेहरु पनि सन्तुष्ट हुनुहुन्छ’, उनले भने ।

मेलामा हिजो जुत्ता किनेर फर्कंदै गरेका भरतपुर, भोजाडका डिलबहादुर विकले नेपालमै बनेको, काठमाडौंमा बनेको जुत्ता भनेर लिन आएको बताए । भरतपुरको एक कलेजमा अध्ययनरत तीनजना छात्रा पनि हिजो मेलामा घुमेर फर्कंदै गर्दा बाटोमै भेटिए । मेलामा किन्नभन्दा पनि हेर्न आएको उनीहरुले बताए । तीमध्ये लमजुङबाट भरतपुरमा पढ्न आएकी सदीक्षा अधिकारीले भनिन्, ‘सकेसम्म स्वदेशी उत्पादन नै प्रयोग गर्न पाए राम्रो ।’ सोहीअनुसार क्वालिटी स्टाण्डर्डको हुनुपर्ने उनको शर्त छ ।

कालिका–४, पदमपुरका राम भुजेल मेलामा सेलमा सस्तोमा भनेर राखिएका सबैजसो जुत्ता–चप्पल पुराना म्याद गुज्रिएको देखिएको बताउँछन् । ‘कसरी चिन्नुभयो त ?’ भन्दा उनकी श्रीमतीले भनिन्, ‘ग्राहकले नचिने कसले चिन्छ त सामान ?’ 
 

टिप्पणीहरू