प्रचारको त्यो भरमार र अन्त्यको सानो एउटा समाचार

प्रचारको त्यो भरमार र अन्त्यको सानो एउटा समाचार

धिरे धिरे आ रे बादल धिरे आ 
बादल धिरे धिरे जा
मेरा बुलबुल सो रहा है 
शोर–गुल न मचा
धिरे धिरे आ
रात धुँधली हो गयी है

सारी दुनियाँ सो गयी है
शर हिलाके कह रही हैं
फूल क्यारी में
सो गयी सो गयी सो गयी
सो गयी लैला किसी के इंतजारी में
मेरी लैलाको ओ बादल तु नजर ना लगा
तु नजर न लगा ओ बादल तु नजर ना लगा
मेरा बुलबुल सो रहा है
शोर गुल न मचा 
ओ गाने वाले धिरे गाना गीत तु अपना
क्यों ?
अरे टुट जायेगा किसीकी, आँख का सपना
चुपके चुपके कह रहा है, मुझसे मेरा दिल
आ गयी देखो मुसाफिर प्यार की मञ्जिल
कौन गाता है रुबाई रे
फिर ये किस की याद आयी रे
किस ने पहना दि है मुझ को प्रेमकी माला
किस ने मेरी जिन्दगी का रंग बदल डाला
तुम कहोगे प्रीत इसको तुम कहोगे प्यार
मैं कहुँ, हाँ
मैं कहुँ दो दिल मिले हैं खिल गया संसार
दो दिलों की ये कहानी दो दिलों की ये कहानी
तु भी सुनता जा ओ बादल तु भी सुनता जा

सन् ४० को दशकमा निकै चलेको गीत हो यो । गायक थिए– अमिरबाइ कर्नाटकी र अशोककुमार । चलचित्र थियो सन् १९४३ मा प्रदर्शित ‘किस्मत’ । रचनाकार थिए– सुप्रसिद्ध भारतीय कवि प्रदीप । संगीत थियो– अनिल विश्वासको । भारतीय सिनेमाको ‘दादामुनी’ कहलिएका अभिनेता अशोककुमारको यो चलचित्र १७ औं थियो तर उनलाई हिन्दी चलचित्र जगतकै पहिलो सुपरस्टार यसै फिल्मले बनायो । हिन्दी सिनेमाको इतिहासमा यो नै पहिलो ब्लकबष्टर (ब्यापारिक सफलता प्राप्त गरेको) चलचित्र थियो । ४० को दशकमै १ करोड भारुभन्दा बढी ब्यापार गर्न सफल यसको लागत जम्मा २ लाख थियो । नायक थिए अशोककुमार अनि नायिका मुमताज शान्ति । चलचित्रमा कूल ८ वटा गीत थियो, ७ वटामा गायिका अमिरबाइकै स्वर थियो । उनी मराठी, कन्नड र हिन्दी गीत गाउँथिन् । चलचित्रकी नायिका पनि थिइन् । 

सन् १९३५ देखि गाउन थालेकी अमिरबाइ अभिनय र गायनमार्फत शिखरमा पुगिसकेकी थिइन् । धन पनि मनग्गे कमाइन् । सन् ४० को दशकमा हिन्दी सिनेमामा खलनायकका अभिनय गर्ने पात्र थिए– अफजल कुरैसी । उनका ३ दाजुभाइ थिए । जेठो महमुद निसारुद्दिन, माइलो महमुद मनालुद्दिन अनि कान्छा महमुद अफजलुद्दिन उर्फ अफजल कुरैसी । आजपर्यन्त बजारमा देखिने गरेको औषधि कम्पनी ‘हिमालय ड्रग्स एन्ड फर्मास्युटिकल्स’ उनीहरूकै हो, जुन सन् १९३० मा स्थापना गरिएको थियो । मल्लिका ए तरन्नुमको नाउँले विख्यात गायिका तथा अभिनेत्री नूरजहाँका पति शौकत हुसेन रिज्बी, जसले सन् १९४४ मा ‘दोस्त’को निर्देशन गरेका थिए, ले खलनायकमा लिएका थिए अफजललाई । अफजल नाउँमा कुनै आकर्षण देखेनन् र हिमालयको फेदमा अवस्थित देहरादुनबाट मुम्बै झरेका ठिटो भएकै कारण नयाँ नाम राखिएि– हिमालयवाला । जब फिल्मको पोस्टर छापियो, कलाकारको सूचीमा हिमालयवालाको नाउँ देखेर सबैले अनौठो माने । 

एकपछि अर्को चलचित्र प्रदर्शनमा आउन थालेपछि हिमालयवाला चर्चित खलपात्रको रूपमा स्थापित भए, अमिरबाइ त शिखरमा पुगिसकेकै थिइन् । यसबीच, निर्देशक महबुब खानले सन् १९४६ मा ‘ऐलान’ बनाउन शुरु गरे । निकै सफल मानिएको उक्त चलचित्रमा पनि खलपात्र उनै हिमालयवाला र पाश्र्वगायक अमिरबाइ । चलचित्र सुटिङको दौरान दुबै नजिकिए र प्रेम विवाह गरे । अमिरबाइ हिमालयवालाभन्दा १० वर्षले जेठी थिइन् । उमेरको फरकले हो वा फरक चरित्रका कारण बिहेलगत्तै दाम्पत्य जीवनमा खटपट शुरु भयो । हिमालयवाला पर्दामा मात्र होइन वास्तविक जीवनमा पनि खलपात्र नै सावित भए । अमिरबाइले एकदिन पनि सुखसित बिताउन पाइनन् । दिनहुँ झगडा र कुटाकुट ।

चलचित्र जगतमा नाम र दाम कमाएकी अमिरबाइले घरमा दिनहुँ लोग्नेको हातबाट कुटाइ खान्थिन् । हिमालयवाला चर्चित खलनायक बने पनि परिणाममा उनले खासै धेरै सिनेमामा खेल्ने अवसर पाएनन् । त्यसैले पत्नीको कमाइमा राज गर्न थाले । पत्नीले ल्याएको पैसा झगडा गरेर खोस्थे । नदिए हातखुट्टा चलाउँथे । प्रत्येक दिन झगडा र मारपिट हुन थालेपछि अमिरबाइको गायन करियरमा पनि असर पर्‍यो । चलचित्र क्षेत्रमा लता मंगेशकर र आशा भोंसलेजस्ता दिग्गज पाश्र्व गायिकाहरूको प्रवेशले त्यसै पनि कम मात्र काम पाइने अवस्था आइसकेको थियो । त्यसैले आफ्नो गायन करियरमा ध्यान केन्द्रित गर्न पतिलाई छाड्नैपर्ने निधोमा पुगिन् । र, आफ्नो निर्णय सुनाउँदै भनिन्, ‘मलाई छाड्नु, बदलामा मेरो सबै सम्पत्ति लिनु ।’

पत्नीको कुरा सुनेर हिमालयवाला दंग परे । ‘हुन्छ’ भन्दै सहज उत्तर दिए । अमिरबाइले पत्नी कुट्ने पतिबाट मुक्ति पाइने भो भन्ने खुशीमा सम्पत्ति त दिइन् नै आफू चढ्दै आएको गाडीको पनि नामसारी गरिदिइन् । सम्पत्ति दिँदै भनिन्, ‘आइन्दा मेरो जीवनमा कुनै किसिमको हस्तक्षेप गर्न पाउने छैनौ ।’ हिमालयवालाले यो शर्त पनि सहजै स्वीकारे । लोग्नेबाट अलग्गिएर अमिरबाइ माइत बस्न गइन् । भोलिपल्ट गीत रेकर्डिङ गर्न स्टुडियोतर्फ लागिन् । उनी अब गायन कलालाई पुग्दो समय दिन सकिने भयो भनेर प्रसन्न थिइन् । तर, यो आनन्द धेरै बेर टिकेन, एकछिनपछि उनैले दिएको कार चढेर हिमालयवाला स्टुडियो पुगे । अमिरबाइलाई तानेर लगे । स्टुडियोका सबै स्टाफ हेरेको हेर्‍यै ।

हिमालयवालाले पत्नीलाई गाडीमा बसाले र घरतर्फ लागे । घर पुग्नेबित्तिकै कोठा बन्द गरेर नराम्रोसित पिटे । लात्ती–मुक्का प्रहार गरे । स्टुडियोका स्टाफले अमिरबाइको अपहरणको खबर दिदी गौहरबाइलाई सुनाए । र, उनैको मद्दतबाट उद्धार भयो । यसपछि अमिरबाइले वकिलसित सल्लाह लिइन् र अदालतमा मुद्दा दायर गरिन् । बिहेको दिनदेखि नै आफूमाथि हिंसा, दुव्र्यवहार र अपमान हुने गरेको लामै सूची पेश गरिन् । फैसला उनको पक्षमा आयो, सधँैका लागि लोग्नेबाट छुट्कारा पाइन् । तर, यो घटनाबाट मनमा लागेको घाउलाई लामो समयसम्म बिर्सनै सकिनन् । र, डिप्रेसनमा गइन् । यसैबीच उनको भेट गुजराती पत्रकार बद्रि काँचवालासित भयो । बद्रिको सामिप्यतापछि स्वास्थ्यमा निकै सुधार भयो र दुबैले बिहे नै गरे । पछिल्लो दाम्पत्य जीवन भने सुखद रह्यो । 

त्यतिञ्जेलमा उनको करियर भने गोलमाल बनिसकेको थियो । १ सय ५० वटा चलचित्रमा करिब ३ सय ८० गीत गाइसकेकी उनी त्यसपछि पुनः अभिनयतर्फ लाग्न विवश बनिन् । त्यहाँ पनि मुख्य भूमिका पाइनन् । आमा, बहिनी, भाउजूकै भूमिकामा सिमित रहिन् । उनले चलचित्रमा बाहेक भजन पनि थुप्रै गाएकी थिइन् । तीमध्ये एउटा ‘वैष्णवजन तो तेने कहिए’ महात्मा गान्धीको पनि मन पर्ने गुजराती भजन थियो । त्यसैको कारण गान्धीले उनको तारिफ मात्र गरेनन् बल्कि अमिरबाइलाई मनै पराए । उनले आश्रममा यो गीत आफै गाउँथे । तर ‘कहाँ अमिरबाइको स्वर, कहाँ महात्मा गान्धी !’ सबै यसै भन्थे । पछि कर्नाटक गएर बसिन् । जन्म स्थान बिजापुरमा अमिर टाकिज बनाइन् ।

नाटकमा पनि काम गरिन् । र सन् १९६५ पुग्दानपुग्दै गुमनाम बन्न पुगिन् । सन् १९६५ मा निधन हुँदा ५३ वर्षकी थिइन् । यसबारे मात्र एउटा स्थानीय पत्रिकामा सानो समाचार बन्यो । उता, हिमालयवाला भने मुलुक विभाजनपछि भारतमा टिक्नै सकेनन् र पाकिस्तान गए । त्यहाँ भने प्रसिद्धि कमाए । तेरी याद, शाहिदा, दो आँसु, अनारकली, यहुदीकी लड्की, शमाजस्ता दुई दर्जन चलचित्रमा अभिनय गरे, कुनैमा नायक थिए भने कुनैमा खलनायक । उनले पाकिस्तानी अभिनेत्री परविनसँग दोस्रो बिहे गरे । उनको निधन सन् १९८४ मा लाहौरमा भयो । 

अमिरबाइका आमा–बुबा दुबै गायन र थिएटरमा सक्रिय थिए त्यसैले उनी र उनका चारै जना दिदीबहिनीले पनि कला र संगीत सिक्न पाए । १९ वर्षको उमेरमा सन् १९३१ मा कर्नाटकको बिजापुरबाट मुम्बई पुगिन् र तुरन्तै चलचित्रको लोकप्रिय नायिका र गायिका बनिन् । उनलाई प्रथम सिंगिङ स्टार मान्न थालियो । र प्रायः प्रेमगीत गाउने गरेकीले रातारात ‘प्रेमिल गायिका’ बनिन् । उनको पहिलो चलचित्र सन् १९३४ मा निर्मित ‘विष्णु भक्ति’ हो । यो चलचित्र आफ्नी दिदी गौहरबाइको निगाहले पाएकी थिइन् । गौहर सो फिल्मकी नायिका थिइन् । सन् १९३६ मा प्रदर्शित फिल्म ‘जमाना’ को गीत ‘इस पापकी दुनियासे कहिं और चल’ बाट अमिरबाइले फिल्ममा गीत पनि गाउन थालिन् ।

सन् १९४२ मा प्रदर्शित चलचित्र ‘वसन्त’ को गीत ‘हुआ क्या कसूर, हुए जो हमसे दूर’ गीत पनि निकै चलेको थियो । यो नायिका मधुबालाको पहिलो फिल्म हो । यसमा बेबी मुमताजको नाउँबाट बाल अभिनय गरेकी थिइन् । अमिरबाइको भाग्य यथार्थमै चलचित्र ‘किस्मत’ पछि बल्ल चम्केको हो । अमिरबाइको जीवनी पुस्तकका लेखक रहमथ तारिकेरे भन्छन् ‘त्यो जमानामा चलचित्र जगतमा प्रवेश गर्नु भनेको महिलाका लागि स्वतन्त्रताको लडाइँ लड्नुभन्दा कम कठिन थिएन । अन्यले सरह अमिरबाइले पनि फिल्ममा कलाकारिता देखाउनुलाई लाजको विषय मानिनन्, गर्वको विषय ठानिन् ।’
 

टिप्पणीहरू