गोविन्द बन्दी फर्के अदालतमा, प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा

गोविन्द बन्दी फर्के अदालतमा, प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा

पूर्व कानुनमन्त्री गोविन्द बन्दीले प्रधानमन्त्रीको शान्ति र मानवअधिकार सल्लाहकारबाट राजीनामा दिएका छन् । उनले सल्लाहकारको प्रयोजन पूरा भएको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको बुझिएको छ ।

‘प्रयोजन पूरा भएकाले उक्त पदमा बसिरहन वाञ्छनीय नदेखिएको’ उल्लेख गर्दै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । आगामी दिनमा आवश्यकता परेमा सरकारलाई आफ्नो सहयोग निरन्तर रहनेगरी बन्दीले राजीनामा दिएका हुन् ।

उनले प्रधानमन्त्री दाहाललाई भेटेर भर्खरै राजीनामा बुझाएको बालुवाटार श्रोतले बतायो । बन्दी गत फागुन १५ गते उक्त पदमा नियुक्त भै गत महिना जेनेभामा सम्पन्न राष्ट्रसंघीय मानवअधिकार बैठकमा सहभागी हुन गएका थिए ।

राजीनामापछि प्रधानमन्त्रीले बन्दीलाई धन्यवाद दिएको बताइन्छ । बन्दीको विशेष पहलमा तयार पारिएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ आज प्रतिनिधिसभामा दर्ता भएको छ ।

टिप्पणीहरू