शीतल निवासको ट्वीटर विवादमा निवर्तमान राष्ट्रपतिको चर्को आलोचना

शीतल निवासको ट्वीटर विवादमा निवर्तमान राष्ट्रपतिको चर्को आलोचना

केही वर्षअघि तत्कालीन प्रधानमन्त्री बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिँदा त्यहाँका भाँडावर्तन यताउता भएकोबारे सामाजिक सञ्जालमा आलोचना भएको थियो । सरकारी क्वार्टर छाड्दा मन्त्रीहरुले चम्चा, गम्छाजस्ता अत्यन्तै सामान्य कुरामा पनि लोभ देखाउने गरेको चर्चा अहिले पनि हुने गर्छ । यसपटक पनि त्यस्तै एउटा विषयले सामाजिक सञ्जाल गर्माएको छ । कारण हो –राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डलको विषय । 

उच्च ओहदामा रहने व्यक्तिहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल राष्ट्रिय सम्पत्तिका रुपमा रहन्छ र रहनुपर्छ । त्यसकारण पदबाट बाहिरिँदा त्यस्ता बौद्धिक सम्पत्तिहरु संस्थाकै सम्पत्तिका रुपमा जिम्मेवारी सम्हाल्ने नयाँ व्यक्तिलाई हस्तान्तरण गर्ने प्रचलन विश्वभर छ । तर, दुई कार्यकाल गरी सात वर्ष मुलुकको सबैभन्दा माथिल्लो पदमा रहनुभएका निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको नाममा सञ्चालित ट्वीटर निजी बनाएको भन्दै अहिले उहाँको चर्को आलोचना भएको छ । 

भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरिएपछि सरकारी सम्पत्ति हडपेको ट्वीटर प्रयोगकर्ताहरुले आरोप लगाएका छन् ।

यसप्रति कडा टिप्पणी गर्दै एक जनाले ट्वीट गरेका छन्, ‘राष्ट्रपति कार्यालयबाट सञ्चालन भइरहेको राष्ट्रपति संस्थाका रुपमा भेरिफाइड रहेको ट्वीटर खाता त पदावधी सकिएसँगै सोही कार्यालयलाई पो बुझाउने होला त । न कि लाज, सरम र पदीय गरिमाको ख्याल नगरी व्यक्तिगत प्रयोजनका लागि प्रयोग !’ 

अर्का ट्वीटर प्रयोगकर्ताले कार्यकाल सकेर घर फर्किने बेलामा निवर्तमान राष्ट्रपति भण्डारीको आफ्नै कारणले आलोचना भएको टिप्पणी गरेका छन् । ‘जाने बेला बदनाम नगरेको भए हुने, आखिर त्यो राष्ट्रपति कार्यालयको सम्पत्ति हो । व्यक्तिगत होइन । पहिले जे–जे पोष्ट भएका छन्, ती भण्डारीका व्यक्तिगत कुरा होइन, संस्थागत हो । तिनीहरु कि लैजानु पर्यो ? कार्यालय र व्यक्तिका अलग–अलग हुनु पर्यो अब’, उनले लेखेका छन् । 

भण्डारीले भने हिजो रुपान्तरित उक्त ह्यान्डलबाट क्रिकेट खेलाडीलाई बधाई दिनुभएको छ । त्यसमा रिप्लाई गर्दै रामेशले २५ हजार फलोअरको लोभ गरेर भण्डारीले राष्ट्रपति कार्यालयको ह्यान्डल निजी बनाएकोमा कडा व्यङ्ग्य गरेका छन् । ‘क्वार्टर छाड्दा तन्ना र दुध तताउने ताउलोसमेत, लगेर पनि जम्मा २५ हजार फलोअरको लोभ नगरेर त्यो हेन्डल चाहिँ राष्ट्रपतिलाई नै बुझाएको भए बेस हुनेथ्यो’, कटाक्ष गर्दै उनले लेखेका छन्,’ उत्तरोतर प्रगतिको शुभकामना !’

टिप्पणीहरू