भरतपुर, चितवनको सडकमा लाज न भाँड !

भरतपुर, चितवनको सडकमा लाज न भाँड !

देशको मेरुदण्ड हो यातायात । स्थानीय सरकारको निर्वाचनपछि सडक पूर्वाधारको विकासमा ठूलो लगानी भएको छ । टोलटोल र घरघरैपिच्छे सडक पिच गरिएको छ । साँघुरा सडकहरु चौडा पारिएका छन् । यहाँसम्मकि बाटो नै नभएको ठाउँमासमेत पुल बनाइएको छ !! जेहोस्, बाटोघाटो, पुलपुलेसाको निर्माण–विस्तारमा जनप्रतिनिधिहरुले आँखा चिम्लेरै पैसा बिछ्याएका छन् । चितवनमा पनि अहिले त जता हेर्‍यो उतै पक्की र चौडा सडक देखिन्छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफ्नो पहिलो कार्यकालको पहिलो प्राथमिकता सडकलाई नै दिइन् । पहिलो पाँच वर्षमा मात्रै भरतपुरमा ६२२ किमि पिच सडक निर्माण गरिएको थियो । 

तर सडकमात्रै व्यवस्थित र चिटिक्क भएर के गर्नु ? त्यसमा गुड्ने सवारी साधनको व्यवस्थापन गतिलो नभएपछि ! अझै पनि भरतपुर, चितवनतिर साना–साना सार्वजनिक सवारी साधनहरु कीरासरी छन् । यसले बाटोमा व्यापक भद्रगोल छ, गतिछाडा हालत छ । यात्रुहरु दिनदहाडै ठगिएका छन्, लुटिएका छन् । लोकल रुटमा म्याजिक र अटोको असाध्यै मनपरी छ । अटोको ब्रह्मलुटको त कुरा गरी साध्यै छैन । ५, ७ किलोमिटर यात्रा गरेकै १००, २०० देखि ५००, ७००, १००० पनि ठटाउँछन् । केही दिनअघि एउटा अटोमा ५ मिनेट चढेको सय रुपैयाँ लिएको भन्दै एउटी पत्रकार महिलाले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले तत्काल उक्त अटोलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो । 

त्यति नै यात्रा गरेको अटोहरुले डेढ, दुई सय पनि असुल्ने गरेका छन् । टाढा टाढाबाट उपचार गराउन आएका बिरामीलाई चौबीसकोठीबाट तीन किमि जति परको क्यान्सर अस्पताल पुर्‍याएको पाँचसय रुपैयाँ सम्म लिने गरेको भेटिएको छ । गैंडाकोटमा कांग्रेसचोकबाट ४–५ किमि परको गैरी जान अटोले तीन सय रुपैयाँ मागेको हालै केही दिनअघि म्याजिकमा यात्रा गर्दा एउटी महिलाले बताइन् । अटोले चढेकै ४०–५० रुपैयाँ लिइहाल्छन् । अगाडि चालक बस्ने सिटमा पनि यात्रु राखेर झुन्ड्याउँदै ओसार्छन् । पछाडिको २–३ जनासम्म अट्ने सिटमा पनि ४–५ जनासम्म यात्रु बोकेर कुदाउँछन् । 

म्याजिक भ्यानमा हुने कोचाकोच र घोचाघोच त झन् खपीसक्नु छैन । आठसिटे म्याजिकमा १४÷१५ जनासम्म यात्रु खापेर कुदाउने गरिन्छ । आमने–सामने तीन–तीन जना बस्न मिल्ने गरी बनाइएको प्यासेन्जर सिटमा अनिवार्य चार÷चार जना राख्ने यहाँको चलनले अर्काको श्रीमान् वा श्रीमतीको काखमै बसेर साप्रामाथि साप्रा, कुमसँगै छाती टाँसेर यात्रु गर्नुपर्ने बाध्यता छ । त्यसको बीचमा दुई–तीनवटा मुढा पनि राखेर मान्छे बसाउँछन्, पाएसम्म ढोकामा पनि राख्छन् । अगाडि ड्राइभर सँगै एकजना बस्न मिल्ने गरी बनाइएको सिटमा पनि जबरजस्ती दुईजना राख्छन्, राख्छन् । यस्तो प्याकाप्याकमा त्यहीँ च्यापिँदै पाकेर फतक्क हुन्छन् यात्रुहरु । कतिपय सीधासाधा यात्रुहरुलाई मुटुमा गाँठो पारेर पनि म्याजिक नचढी नहुने विवशता छ । भरतपुरको रिंगरोडमै ठूलो गाडी चल्दैन । कि त चर्काे भाडा तिरेर अटो नै चढ्नुपर्‍यो, नभए उही ठेलमठेल, घचमच सहँदै म्याजिकमा कोचिनुपर्‍यो ​​​​​ ​​​ । 

म्याजिक र अटोले विद्यार्थी, अपांग र ज्येष्ठ नागरिकलाई सानो गाडी भन्दै राज्यले दिएको छुट पनि दिँदैनन् । गैंडाकोट, भरतपुर, टाँडी, पर्सा, माडी, मेघौली, लोथर सबैतिर म्याजिकमा यही गतिछाडा हाल हो । म्याजिकको न्यूनतम भाडा २५÷३० रुपैयाँ रहेको छ । अझ ठूलो गाडीमा यात्रुलाई भाडामा अझ बढी सहुलियत दिन सकिने, ठेलमठेल पनि नहुने, खुला रुपमा मर्यादित ढंगले यात्रा गर्न सकिने भएपनि यसतर्फ ठूलाबडाहरुको ध्यान गएकै छैन । आफ्नै निजी अनि सरकारी कालो सिसा भएको गाडीमा सयर गर्ने सरकारी अधिकारीहरुले सार्वजनिक सवारी साधनभित्रको बेथिति, विसंगति नदेखेकै हुन त ?

भरतपुर चितवनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको नमूना सहर बनाउने भनी मेयरले नै फलाक्दै गर्दा स्मार्ट सिटीमा यस्तै हुन्छ त सार्वजनिक बस सेवा ? बसपार्क पनि खासै व्यवस्थित छैन, न पार्किङको सुविधा छ । नारायणगढको मुटु पुलचोकमै हेरौं त यात्रुको तानातान ! गाडीका स्टाफले बाटोमा हिँडिरहेका पुरुष होस् या महिलालाई हातै समातेर तान्ने, ढाड, कम्मर र कुममै समातेर गाडीभित्र हुल्ने, झोला तान्ने, बाझाबाझ गर्ने एकदम उच्छृङ्खल, उद्दण्ड प्रवृत्ति छ। भरतपुरमा २०८० लाई पर्यटन वर्षको रुपमा मनाउने सन्दर्भमा आयोजित छलफलमा सरोकारवालाहरुले यातायातको यो भद्रगोलताप्रति असाध्यै चिन्ता जनाएका थिए । सार्वजनिक सवारी साधनमा यस्तो असहज, अमर्यादित, अशिष्ट एवम् अव्यवस्थाका बीच यहाँ घुम्न आउने पर्यटकहरुलाई दिने विशिष्ट सेवा के त ? सवारीसाधनमै अँठ्याएर आत्थु–आत्थु बनाइ पठाउने ? भरतपुर, चितवन त यस्तो गतिछाडा भनेर देश–दुनियाँलाई चिनाउने ? 

हल्का बनावटका सवारी साधन दुर्घटनाका हिसाबले पनि बढी जोखिमपूर्ण हुन्छन् । बत्तिन्छन् । म्याजिक र अटोलाई त अलिकति ठूलो हावाहुरीले पनि सजिलै पल्टाउन सक्छ । प्रहरी स्रोतका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने, बढी भाडा असुल्नेदेखि लिएर चोरी डकैती, तस्करी लगायतका अपराध कर्ममा समेत अटोको प्रयोग हुने गरेको पाइएको छ । पिक एण्ड ड्रपसमेत तोड्ने म्याजिक र अटोको ओहोर–दोहोरले मुख्य सडक मार्ग असुरक्षित बनिरहेको छ । 

 भरतप’रबाट पूर्वीचितवनको लोथरसम्म अनि पश्चिम चितवनतिर पहिलेपहिले अलि लामो लोकलरुटमा मिनिबस मात्र चल्थे । अचेल मिनीबसकै भाडामा म्याजिक पनि नारायणगढदेखि लोथरसम्मै पुग्न थालेका छन् । यसले सडकजाम र सवारी दुर्घटना पनि बढाएको ट्राफिक प्रहरीको भनाइ छ । साँच्चै यता म्याजिक र अटोको संख्या अति नै धेरै भएको छ । यिनलाई घटाएर ठूलो गाडी (सटल बस)को व्यवस्थापन गर्ने हो भने सडकमा सवारी साधनको चाप कम भई सडकजाम र दुर्घटनामा पनि कमी आउने ट्राफिक प्रहरी अधिकारी बताउँछन् । स्पेस भएको आरामदायी बस यो स्मार्ट जमानाको आवश्यकता नै हो ।अहिले भरतपुरमा हजार भन्दा बढी म्याजिक, २४÷२५ सयको संख्यामा अटो अनि ३४८ वटा मिनीबस रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । 

यसै आर्थिक वर्षमा मात्रै अहिलेसम्म १० वटा अटो दुर्घटनामा परिसकेका छन् । गतवर्ष २० वटा अटो–टेम्पो दुर्घटनामा परेका थिए । यस्तै ठूला तथा माइक्रो बसभन्दा जिपकार÷म्याजिक भ्यान नै बढी दुर्घटनामा परी मान्छेहरु मर्ने, अंगभंग एवम् घाइते हुने गरेको अवस्था छ । यसै आवमा बढी भाडा लिने २० वटा सवारी साधनलाई कारबाही गरिएको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनायो । ‘के गर्नु ? उजुरी नै आउँदैन’, ट्राफिक प्रहरी हवल्दार लेखनाथ पोख्रेलले भने । चितवनमा सार्वजनिक सवारी साधनको स्थानीय भाडादर कायम हुन नसक्दा पनि यतिविघ्न मनपरी भइरहेको छ ।

यसै सिलसिलामा जनआस्थाकर्मी अस्ति जिल्ला प्रहरी कार्यालय चितवनमा रिपोर्टिङका लागि पुगेको थियो । नयाँ आएका एसपी रामेश्वर कार्कीसँग जनआस्थाकर्मीले यातायातमा रहेको यो भद्रगोल, बेथिति तथा ठगी, गतिछाडा, कोचाकाच र तानातान प्रवृत्तिबारे कुराकानी गरेका थिए । एसपी कार्कीले जिल्ला ट्राफिकका प्रहरी अधिकारीलाई तत्कालै फोन गरी ‘यो बदमासी तुरुन्त नियन्त्रण गर्नू’ भनेपछि अस्तिदेखि नै चितवनमा व्यापक रुपमा प्रहरी परिचालन गरी म्याजिकको मुढा धमाधम खोसिँदैछ । अस्ति र हिजोको दुई दिनमा मात्रै १९० वटा मुढा नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । यात्रु तानातान गर्ने गाडीका दलेहरुलाई पनि प्रहरीले झ्यापझुप पारी कारबाही बर्साउन थालेको बुझिन्छ । 
 

टिप्पणीहरू