टेलिकमको वार्षिकोत्सवमा अफरै अफर

टेलिकमको वार्षिकोत्सवमा अफरै अफर

नेपाल टेलिकमले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवको अवसरमा एनटी एनिभर्सरी अफर सार्वजनिक गरेको छ । टेलिकमले आफ्ना ग्राहकका लागि २९४ रुपैँयामा १० दिनका लागि २० जिबी डाटा, ९८ रुपैँयामा ३ दिनका लागि ६ जिबी डाटा र ४९ रुपैँयामा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अननेट १०० मिनेट कल सुविधा दिएको हो । 

यसैगरी, २०० रुपैँयादेखि ४९९ रुपैँयाको रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा ५०० रुपैँया वा सोभन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अर्को अफर छ । यी अफरहरु आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछ । नयाँ एफटिटिएच जडान गर्ने ग्राहकका लागि १२ हजार रुपैँयामा २० एमबिपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटिटिभीसहितको प्योकज उपलब्ध गराइने छ । यो सेवा फागुल्न २९ गतेसम्मका लागि उपलब्ध हुनेछ । 

वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सरकारी र सामुदायिक विद्यालय, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, बसपार्क, एयरपोर्ट, अस्पताललगायतका सार्वजनिक स्थल, वृद्धाश्रम र बाल आश्रम, आमा समूह, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणलाई कम्पनीका तर्फबाट सहयोग गर्ने कार्यक्रम पनि घोषणा गरिएका छन् ।

कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेता र एमपिओस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीलाई सम्मान र पदक, वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई सम्मानपत्र र कम्पनीका विभिन्न सेवा निःशुल्क उपलब्ध गराउनुका साथै २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

वार्षिकोत्सवको अवसर पारेर कम्पनीले फाइभजीको परीक्षण सुरुवात गरेको छ । विभिन्न मोबाइल सेट निर्माता कम्पनीहरुबाट उक्त कम्पनीहरुको सेटमा फाइभजी परीक्षण गर्न समन्वय भइरहेको पनि टेलिकमले जनाएको छ । केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले अध्यक्षता गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभएर सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको बताइन् । सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भूमि अभिलेख व्यवस्थापन, स्थानीय पञ्जिकाधिकारी सम्बन्धी सेवा, करसँग सम्बन्धित कार्यलगायतका सेवा उपलब्ध गराइरहेको उनले जानकारी गराइन् । 

मन्त्री शर्माले न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादनशीलता हासिल गरी ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ सेवा उपलब्ध गराई कर्मचारीका सेवासुविधालाई वृद्धि गर्दै लैजाने तथा लगानीकर्ता सेयरधनीहरुलाई अधिकतम प्रतिफल दिनु कम्पपनीको दायित्व रहेको बताइन् ।
 

टिप्पणीहरू