शरीरमा पेट्रोल छर्कनेको संख्या बढ्यो,रविका नाममा पनि असफल प्रयास

शरीरमा पेट्रोल छर्कनेको संख्या बढ्यो,रविका नाममा पनि असफल प्रयास

माघ १० गते नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडिको मुख्य सडकमा इलामका प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । तत्काल उध्दार गरेर अस्पताल पुर्याइएका उनको ८० प्रतिशत शरीर जलिसकेकाले भोलिपल्ट बिहान उपचारको क्रममा मृत्यु भयो ।

आचार्यको मृत्युपछि नेपाल प्रहरी र नेपाल आयल निगमले बोतल, जर्किनलगायत भाँडामा खुल्ला रुपमा पेट्रोलियम पदार्थ खरिद बिक्रीमा रोक लगाएको छ । प्रहरीले खुल्ला रुपमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा रोक लगाए पनि आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्नेको संख्या बढ्दो छ ।

विभिन्न व्यवसायमा असफलता हात लागेपछि र ऋणको बोझले थिचेपछि आचार्यले आत्मदाहको बाटो रोजेको उनले पोष्ट गरेको सामाजिक सञ्जालको स्टाटसमा देखिन्छ । पछिल्लो समय उक्त गलत प्रवृत्ति मौलाउन खोजेको प्रष्ट संकेत हो यो ।

माघ १५ गते पोखरा महानगरपालिका १३ काहुँखोलाका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले पनि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरे । डेरामा बस्दै आएका क्षेत्रीले आत्मदाहको प्रयास गरेपछि उनलाई बचाउने क्रममा घरधनी संगीता सापकोटाको पनि मृत्यु भएको थियो ।

सोही दिन नेपालगञ्जको कोहलपुरमा एक पुरुषले आफ्नी श्रीमती र २ वर्षीय छोरालाई पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु भयो । ३० वर्षीया गंगासँग भएको घरायसी विवादमा भानुभक्त बिकले गंगा र २ वर्षीय छोरा प्रिन्सलाई समेत आगो लगाएको प्रहरीको भनाइ छ । 

जलेर घाइते भएका दुवैलाई कोहलपुरमा सामान्य उपचारपछि नेपालगञ्जको भेरी अस्पताल लैजाँदा उपचारको क्रममा छोराको मृत्यु भएको बताइन्छ । श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएका भानुभक्तलाई भने प्रहरीले नेपालबाट भारततर्फ भाग्दै गर्दा पक्रेको जनाएको छ ।

गत बिहीबार दिउँसो जुम्लाका एक युवाले पनि आत्मदाहको प्रयास गरेको खबर बाहिरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग गर्दै चन्दननाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य प्रतिष्ठानका ४० वर्षीय सवारी चालक गोकर्ण कार्कीले आत्मदाहको प्रयास गरेको बताइएको छ ।

कार्कीले जिल्ला प्रशासन कार्यालयअगाडि आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको प्रहरीको भनाइ छ । तर पेट्रोल मात्र छर्किएको र लाइटर बाल्न नभ्याएकाले कुनै क्षति हुन पाएन । उनमा मानसिक समस्या पाइएको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले बताए ।

माघ ११ गते विराटनगर महानगरपालिका–३, पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले आर्थिक भार खेप्न नसकेको भन्दै आफ्नै घरमा आत्महत्या गरे । विराटनगरको शनि रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेले बैंक ऋणका कारण आफू मर्न बाध्य भएको सुसाइड नोटमा उल्लेख गरेका छन् । 

नोटमा उनले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएको बताएका छन् । पछिल्लो पटक १ करोड ५० लाखको आर्थिक भार रहेको र अर्को सहकारीमा पनि १० लाख ऋण पुगेपछि उनले उक्त बाटो रोजेको उल्लेख गरेका हुन् । 
सोही दिन सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिकले सहकारी संस्थाबाट लिएको एक लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा आत्महत्या गरेका छन् । प्रहरीका अनुसार उनी घरभन्दा करिब ३ सय मीटर दक्षिण–पश्चिमममा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

दुई वटा सहकारी संस्थाबाट लिएको ऋणको किस्ता तिर्न नसक्दा सहकारीले दबाब दिन थालेपछि आत्महत्या गर्न बाध्य भएको परिवारजनले बताए । यता काठमाडौँको पुरानो बानेश्वरमा गत शनिवार ७ वर्षीया छोरीको घाँटी रेटेपछि एक जनाले आफ्नो घाँटीमा पासो लगाएका छन् । 

रामेछाप घर भई राजधानीमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत अवस्थामा भेटिएका हुन् । शारीरिक रुपमा अशक्त छोरीको घाँटी रेटेको र बाबु शौचालयमा पासो लगाएको अवस्थामा भेटिएकाले उनले नै छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

घटनास्थलमा सुसाइड नोटसमेत फेला परेको छ । त्यसमा आर्थिक समस्यालगायत विविध विषय उल्लेख गरिएको बताइन्छ । यसरी,पछिल्लो समय विभिन्न कारण देखाउँदै आत्महत्याको बाटो रोज्नेको संख्या बढेको देखिन आएको हो ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेल केही समययता आत्महत्या गर्नेको संख्या बढेको बताउँछन् । ‘आत्महत्या गर्नेमध्ये अधिकाँशमा मानसिक स्वास्थ्य समस्या हुने गर्दछ,’ उनले भने,‘यसका साथै आर्थिक रुपमा विपन्न भएमा वा रोजगारीका अवसरबाट वञ्चित भएमा पनि आत्महत्या गर्ने गरेको पाइएको छ ।’  

व्यक्तिमा सामाजिक,आर्थिक, सांस्कृतिकलगायत अन्य विषयमा तनाव बढेपछि उनीहरुले आत्महत्याको सजिलो तर कायरतापूर्ण बाटो रोज्ने उनको निश्कर्ष छ । आत्महत्या गर्नेको संख्या घटाउन वा यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले समय समयमा विभिन्न प्रकारका कार्यक्रम,सचेतना वा जनचेतना अभिबृध्दि गर्दै आएको पोखरेलको दाबी छ ।

आत्महत्या गर्नेको संख्या पछिल्लो समय बढ्दो क्रममा रहेकाले यसलाई निरुत्साहन गर्न व्यक्ति आफैँँले आफूलाई नियन्त्रण गर्न आवश्यक रहेको उनले औंल्याए । प्रहरीले खुल्ला रुपमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा रोक लगाएको बताउँदै कसैले कानूनविपरीत त्यसरी पेट्रोलियम पदार्थको खरिद बिक्री गरेको पाइएमा तत्काल प्रहरीलाई खबर गरिदिन आग्रह गरेको छ ।

‘प्रहरी र आयल निगमद्वारा खुल्ला रुपमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ,’उनले भने, ‘तर,माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेपछि समाजमा यसले अर्को विकृति उत्पन्न गराएको रुपमा लिएका छौं । अहिले जो कोही स-साना कुरामा पनि आत्महत्या वा आत्मदाहको प्रयासमा लागेको पाइन्छ ।’

आत्महत्या आफैँमा एउटा रोग होइन । तर विभिन्न कारणले सिर्जित जटिल खालको समस्या भएको पोखरेलको भनाइ छ । मुख्यतयाः उदासिनता,अधिकतम मादक पदार्थ तथा लागूऔषधको प्रयोग एवम् दीर्घ रोगका कारण दिक्क भएर व्यक्तिहरुले आत्महत्याको बाटो रोज्ने गरेको मनोविदहरुको निश्कर्ष छ । 

उनीहरुका अनुसार आत्महत्या गर्नेमध्ये प्रायः सबैमा मानसिक समस्या मात्र हुँदैन । कतिपयमा आर्थिक,सामाजिक तथा मनोवैज्ञानिकलगायत अन्य विभिन्न समस्या पनि हुने गरेको पाइएको छ ।
 

टिप्पणीहरू