मन्त्री बन्नासाथ बुहारीलाई जागिर

मन्त्री बन्नासाथ बुहारीलाई जागिर

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहाले बुहारीलाई यातायात व्यवस्था कार्यालय नवलपरासी पूर्व नवलपुरमा अस्थायी कम्प्युटर अपरेटर (पाँचौं तह) तर्फ बिनाप्रतिस्पर्धा नियुक्तिका लागि सम्बन्धित मन्त्रालयबाट पत्राचार गराएका छन् ।

गाहाले पदभार ग्रहण गरेको भोलिपल्ट माघ १२ गते बुहारी सजिना थापा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशको पत्र लिएर करारमा जागिर खान यातायात व्यवस्था कार्यालय पुगेकी हुन् । उनलाई नियुक्त गर्न मन्त्रालयले यातायात व्यवस्था कार्यालयलाई पत्र लेखेको छ । अधिकृत दशौं टिकाराम पौडेलले हस्ताक्षर गरेको चलानी नं. ७४० को माघ ६ गतेको पत्रमा स्वीकृत दरबन्दी तेरिजअनुसार सेवा करारमा व्यवस्थापन हुन आदेशानुसार अनुरोध गरिएको छ ।

थापाले माघ ३ गते उक्त पदमा जागिर पाऊँ भन्दै निवेदन पेश गरेको देखिन्छ । गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको मन्त्रालय विभाजन नभएको बेला मुख्यमन्त्री खगराज अधिकारीले सचिवलाई आवश्यक कारवाहीको लागि तोक आदेश गरेका छन् । गण्डकी प्रदेशमा माघ १० गते मात्रै मन्त्रालयहरूको भागबण्डा गरिएको थियो । सोही दिन नवलपुर प्रदेशसभा क्षेत्र नं. १ (ख) बाट दोस्रो पटक निर्वाचित गाहाले शपथ खाए र भोलिपल्ट आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । त्यसको भोलिपल्ट माघ १२ गते मात्रै बुहारी सजिना मन्त्रालयको पत्र लिएर यातायात व्यवस्था कार्यालय पुगेकी हुन् ।

एमाले नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन भएदेखि नै मन्त्री पदको मुख्य दावेदार रहेका गाहालाई मुख्यमन्त्री अधिकारीले दलको प्रमुख सचेतक नियुक्त गरेका थिए । ससुरा संसदीय दलको प्रमुख सचेतक र मन्त्रीको मुख्य दावेदार रहेकै समय बुहारी सजिनाले करारमा नियुक्ति प्रक्रिया अगाडि बढाएको देखिन्छ । प्राप्त पत्रको आधारमा थापालाई हाजिर गराउने प्रक्रिया थालिएको यातायात व्यवस्था कार्यालय नवलपरासी पूर्वका प्रमुख टेकबहादुर घर्तीले बताए । 

यसअघि करारमा रहेका व्यक्ति पनि अहिले कार्यालयमा नियमित कार्यरत रहँदै आएका छन् । मन्त्री गाहाले यसअगाडि प्रदेशसभा सदस्य हुँदा बुहारीलाई स्वकीय सचिव बनाएका थिए । परिवारको सदस्यलाई पीए नियुक्त गरेर आफैँले सुविधा बुझेको भन्दै त्यहीबेला गाहाको आलोचना भएको थियो । 
 

टिप्पणीहरू