अर्का अध्यक्षको पनि नागरिकता ‘शंकास्पद’

अर्का अध्यक्षको पनि नागरिकता ‘शंकास्पद’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको नागरिकता पनि विवादमा तानिएको छ । रवि लामिछानेझैँ हमालमाथि पनि विदेशी नागरिकता छाडेपछि प्रक्रिया पूरा नगरी पुरानै नेपाली नागरिकता प्रयोग गरेको आरोप लागेको छ ।

उनी लामो समयसम्म थाइल्याण्डमा त्यहाँको स्थायी आवासीय सुविधा उपभोग गरेर बसेका व्यापारी हुन् । अघिल्लो वर्ष भीष्मराज ढुंगानामाथि गम्भीर आरोप लागेपछि रिक्त पदमा विभिन्न शक्तिकेन्द्र र व्यापारिक घरानियाँ तथा बिचौलिया दीपक भट्टको सिफारिसमा अर्थमन्त्री जनार्दन शर्माले हमालको नियुक्तिमा समर्थन जनाएका थिए । उनले पछिल्लो दिनमा काभ्रेपलाञ्चोक जिल्लाको पात्लेखेतमा दुसित थानी हिमालयन रिसोर्ट खोलेका छन् । यो रिसोर्ट नेपालसहित थाइल्याण्ड, अमेरिका, चीन, सिंगापुर, कतारलगायत १६ वटा मुलुकमा खोलिएका छन् ।

प्राथमिक सेयर (आइपीओ), ऋणपत्र, बुक बिल्डिङलगायत विषयमा रकम असुलीको विवादमा तानिएका हमाल लामिछानेको नागरिकता प्रसंगपछि चर्को विवादमा पर्ने निश्चित रहेको स्रोतको दाबी छ । उनले गत वर्ष एकाएक बोर्डको अध्यक्षमा नियुक्ति पाएपछि प्रक्रिया पूरा गरेर नागरिकता लिन नभ्याएको उच्च स्रोत बताउँछ । हमालले पनि रविले झैँ नागरिकता र राहदानी पछिल्लो केही समय दोहोरो प्रयोग गरेको बोर्डका केही कर्मचारीले आशंका गरेका छन् । उनलाई आर्थिक अनियमिततामा संलग्न भएको आशंकामा अर्थ मन्त्रालयले हिजो स्पष्टीकरण सोधेको छ ।

टिप्पणीहरू