बज्यैका कारण आजीवन टुटेको बिहे

बज्यैका कारण आजीवन टुटेको बिहे

जाएँ तो जाएँ कहाँ, समझेगा कौन यहाँ
दर्द भरे दिल की जुबां ।
मायुसिओं का मजमा है जी में
क्या रह गया है इस जिन्दगी में
रूह में गम, दिल में धुआँ
जाएँ तो जाएँ कहाँ ।

उन का भी गम है, अपना भी गम है
अब दिलके बचने की उम्मिद कम है
एक कश्ती, सौ तुफाँ, जाएँ तो जाएँ कहाँ, 
समझेगा कौन यहाँ ।

सन् १९५४ मा प्रदर्शित हिन्दी चलचित्र ‘ट्याक्सी ड्राइभर’ का निम्ति साहिर लुधियानवीद्वारा रचित यो गीत नायक र नायिकालाई छुट्टाछुट्टै गाउन लगाइएको छ । तलत महमुद र लता मंगेशकरद्वारा गाइएको यो युगल गीत भने होइन । हिन्दी चलचित्र जगतमा देवानन्द (देव आनन्द) को नाउँले चिनिएका धरमदेव पिसोरिमल आनन्दका पिता पिसोरिलाल आनन्द नाउँ चलेका वकिल थिए । उनका चार छोरा र एउटी छोरी भए । धरमदेव उनका साहिँला पुत्र हुन् । सबैको जन्म ब्रिटिश भारतकालीन पञ्जाबमा भएको थियो । धरमदेवका दाजु चेतन आनन्द फिल्म निर्माता र निर्देशक थिए । उनले सन् १९४६ मै चलचित्र ‘नीचा नगर’ बनाइसकेका थिए । सन् १९५४ मा ‘ट्याक्सी ड्राइभर’को निर्माण शुरु गरे । यो उनको चौथो चलचित्र थियो । चलचित्रका लागि नायक आफ्नै भाइ धरमदेवलाई लिए ।

धरमदेव, देव आनन्द बनिसकेका थिए सन् १९४६ मै प्रदर्शित चलचित्र ‘हम एक है’ मार्फत । ८ वर्षको छोटो फिल्मी करिअरमै नाम, दाम कमाइसकेका उनको ‘ट्याक्सी ड्राइभर’ ३३औं चलचित्र थियो । चेतनले नायिकामा लिए – कल्पना कार्तिकलाई । कल्पनालाई पहिलोपटक चेतनले नै चलचित्रमा मौका दिएका हुन् फिल्म ‘बाजी’मार्फत् । मोना सिंह लाहोर (वर्तमान पाकिस्तानको शहर) की थिइन् । कर अधिकृतकी पुत्री । सन् १९४७ मा जब भारतको विभाजन भयो, बसाइँ सिमलामा सारे । त्यो बेला १६ वर्षकी उनी त्यतैको कलेजमा पढ्न थालिन् । स्नातक तहको अन्तिम वर्ष चल्दै गर्दा सुन्दरी प्रतियोगिता आयोजन गरियो र मोनाले सुश्री सिमलाको ताज पहिरिइन् । प्रतियोगिताको फाइनल हेर्न चेतन र उनकी पत्रकार पत्नी उमा पनि पुगेका थिए । उमा र मोनाकी आमा दिदीबहिनी पर्थे । मोनाको सुन्दरताबाट चेतन मोहित बने र आफ्नो चलचित्रमा खेलाउने सपना देख्न थाले । उनले प्रस्ताव राख्दा मोनाले ‘नाइँ’ भन्न सकिनन् र फिल्म ‘बाजी’ मा सहअभिनेत्री बनिन् । नायिका थिइन् गीताबाली र नायक देव आनन्द । चेतनले यसै चलचित्रमार्फत मोनालाई कल्पना कार्तिकमा रुपान्तरित गरिदिएका थिए । ‘बाजी’ सुपरडुपर फिल्म सावित भयो र कल्पना चलचित्र जगतको परिचित पात्र बन्न पुगिन् ।

‘ट्याक्सी ड्राइभर’ उनको चौथो फिल्म हो । उनलाई चेतनबाहेक अरुले चलचित्रमा लिएकै थिएनन् । देव अभिनेत्री तथा पाश्र्वगायिका सुरैयासित गहिरो प्रेम गर्थे । सुरैयाले पनि देवलाई मन पराइसकेकी थिइन् । दुबै नियमित भेटघाट, गफ, माया साटासाट र बिहे गर्ने निर्णयमा पुगिसकेका थिए, प्रेमपूर्वक बोलाउन एकार्काको नाउँ पनि राखेका थिए । सुरैयाले देवको नाउँ आफूलाई मन परेको उपन्यासको नायक स्टिभ तोकेकी थिइन् भने नाक अलि लामो भएकाले देवले सुरैयाको नाउँ ‘नोसी’ राखिदिएका थिए । तर सुरैयाकी बज्यै र धर्म पर्खाल बनेर उभिन पुगे । सुरैया मुस्लिम थिइन् भने देव हिन्दू । सन् १९४९ मा प्रदर्शित चलचित्र ‘जित’ को सुटिङका दौरान दुवैले भागेर बिहे गर्ने योजना बनाए तर बज्यैले थाहा पाइन् । नतिजा, उनीहरूको प्रेम बिछोडमा टुंगिन पुग्यो । बिहे हुन नपाएपछि आजीवन अविवाहित रहेकी उनै सुरैयाले एकपटक भनेकी थिइन्, ‘अन्त्यमा मेरी बज्यै हामीलाई छुटाउन सफल बनिन् । म साहसी बन्न नसकेकोमा देव निकै दुःखी भए । म उनलाई लिएर डराएको थिएँ । बज्यैले उनको ज्यान लिने धम्कीसमेत दिइसकेकी थिइन् । मलाई बज्यैदेखि निकै डर लाग्थ्यो । मेरै कारण हाम्रो सम्बन्ध टुट्यो । हृदय छियाछिया भयो ।’ 

यो सन् १९५१ को कुरा हो । देव प्रेमको असफलताबाट छट्पटिरहेको थिए । उनी सुरैयाबिना बाँच्नै चाहन्न थिए । संसारमै आफूलाई एक्लो महसुस गर्न थालेका उनले आत्महत्या गर्नेसम्म कोसिस गरे । (देव र सुरैयाको प्रेमबारे जनआस्थाको २०७८ को मंसिर २९ को अंकमा प्रकाशित छ ।) यस्तो प्रतिकूल परिस्थितिबीच चलचित्र ‘बाजी’ मा उनको भेट कल्पनासित भयो । सिमला सुन्दरी कल्पनाको सौन्दर्य र मिलनसार स्वभावबाट प्रभावित नभैरहन सकेनन् । उक्त चलचित्रको छायांकनका दौरान दुवै नजिकिन पुगे । फेरि कल्पना अभिनित दोश्रो र तेश्रो चलचित्र ‘आँधियाँ’ र ‘हमसफर’ मा पनि नायक देव नै थिए । लगातार सँगसँगैको फिल्मीसफरले दुबैलाई अझ नजिक पु¥यायो र ‘ट्याक्सी ड्राइभर’ सम्म आइपुग्दा नपुग्दै दुबै गहिरो प्रेममा डुब्न थाले । तर, भाइ देव र आफूले खोजेर ल्याएको प्रतिभा कल्पनालाई लगातार सँगसँगै चलचित्रमा खेलाउँदै गइरहेका चेतन भने यसप्रति पूर्णतः बेखबर थिए । देव भन्थे, ‘कल्पना एकदम राम्री थिइन् । चुलबुले, हाँसोठट्टा गर्न मन पराउने र शिक्षित  । हामी बाजीको सुटिङ गर्दागर्दै एकार्कालाई मनपराउन थालेका थियौं । ट्याक्सी ड्राइभरको सुटिङ गर्दागर्दै कसैलाई थाहा नदिई बिहे गर्ने योजना बनायौं । दुबैले कसैलाई नबताउने बाचा ग¥याँै । बरु पछि साथी र नातेदारहरूलाई बोलाएर भोज ख्वाउने सोच बनायौं । नभन्दै एउटा दृष्यको छायांकन सकेपछि चेतन अर्को दृष्यको छायांकनको तयारी गर्दै थिए । 

देवको पाइन्टको खल्तीमा एउटा औंठी थियो । उनले फोनमा रजिस्ट्रारसँग कुरो गरे र सुटिङस्थलमा आइदिन आग्रह गरे । ब्रेकमा चेतनलगायत कोही लाइट मिलाउँदै थिए भने कोही सेटको तयारीमा थिए । देवले खुसुक्क कल्पनालाई इशारा गरे । सँगै एउटा डिपार्टमेन्टल हाउस थियो । तीनै जना सुटुक्क त्यहाँभित्र छिरी रजिस्ट्रारको उपस्थितिमा बिहे गरे । देवको यो क्रियाकलाप देखेर कल्पना पहिला त अक्क बक्क बनिन् तर पछि रमाइन् । उनीहरू सामान्य बनी सुटिङस्थलमा फर्के । कसैले सुइँकोसम्म पाएनन् तर एक जना क्यामेराम्यानले हातमा औंठी देखेर शंका गरे । त्यसो त टोलीका कतिपय सदस्य उनीहरूको सम्बन्धबारे सामान्य जानकार थिए । देवले क्यामेराम्यानलाई चुप बस्न आग्रह गरे । देव र कल्पनाले बिन कुनै हिच्किचाहट अर्को दृष्यको सुटिङ पूरा गरे । योजनाअनुरुप देवले दाजु चेतनलाई पछि मात्र सबै कुरा बताए । चेतनले शुरुमा खिन्नता ब्यक्त गरे तर  पछि हाँसेर स्विकारे । कल्पना पछि एक छोरा र एक छोरीको आमा बनिन् । बिहेपछि मात्र दुइटा चलचित्रमा देखा परिन् – ‘हाउस नं ४४’ र ‘नौ दो ग्यारह’ । दुबै चलचित्रको नायक मात्र होइन, निर्मातासमेत देव नै थिए । यसपछि कल्पना अभिनय त्यागेर गृहस्थ जीवन सम्हाल्न पुगिन् । उमेरमा देव र कल्पनाबीच ८ वर्षको फरक थियो । देवको निधन सन् २०११ मा भइसकेको छ भने कल्पना ९२ वर्षकी भइन् । उनी धर्मले इसाइ हुन् ।

बलिउड चलचित्र जगतमा रोमान्टिक हिरोको रुपमा लोकप्रियता कमाएका देवको नाउँ पछि नेपालमा छायांकन गरिएको ‘हरे राम हरे कृष्ण’ की नायिका जीनत अमानसित पनि जोडियो । उनीहरूले एकसाथ ८ वटा चलचित्रमा काम गरे । भनिन्छ, जीनतले अचानक अभिनेता सञ्जय खानसँग बिहे गरेपछि फेरि एकपटक देवले मन दुखाए । उनको र जीनतको प्रेम सम्बन्ध पनि ७ वर्ष (सन् १९७१ देखि १९७८) सम्म चलेको थियो । देवको नेपालसित पनि घनिष्ट सम्बन्ध थियो । राजा महेन्द्रका मित्रको नाताले राजा वीरेन्द्रको बिहेमा सरिक भए । उनको राजा ज्ञानेन्द्रसित पनि राम्रो सम्बन्ध थियो । भाइ विजय आनन्दद्वारा निर्देशित र उनको अभिनय रहेको चलचित्र ‘जोनी मेरा नाम’ उनीद्वारा निर्देशित र अभिनित ‘हरे राम हरे कृष्ण’ र ‘इस्क इस्क इस्क’ का कतिपय दृष्यको सुटिङ नेपालमै गरिएको थियो ।
 

टिप्पणीहरू